काठमाडौं, ३० असार । भारतको सत्तारुढ भारतीय जनता पार्टीका प्रवक्ता डा. विजय शंकर शास्त्रीले नेपालमा कम्युनिस्टहरु जनताबाट अस्वीकृत भइरहेको टिप्पणी गरेका छन् ।
उनले कुनै बेला भारतमा कम्युनिस्टहरु प्रभावशाली रहेको र जनताको विश्वासमाथि खेलवाड गर्दा अस्वीकृत भएको स्मरण गराउँदै नेपालमा कम्युनिस्टहरुको हालत भारतका कम्युनिस्टहरुको जस्तै हुने टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या भारतमा नभई नेपालमा भनी दिएको अभिव्यक्तिबारे प्रतिक्रिया दिदै शास्त्रीले समाचार एजेन्सी पीटीआईसँग यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
उनको भनाई उदृत गर्दै पीटीआईले भनेको छ, ‘भारतमा पनि वामपन्थीले जनताको विश्वासमाथि खेलवाड गरे र नेपालका कम्युनिस्टहरु भारतमा कम्युनिस्टहरु अस्वीकृत भएजसरी जनताबाट अस्वीकृत हुनेछन् ।’
शास्त्रीले भगवान राम विश्वासको विषय हुन् भन्दै जनताले कसैलाई पनि यस्तो विश्वासमाथि खेलवाड गर्न छुट नदिने बताए । उनको भनाई उदृत गर्दै पीटीआइले लेखेको छ, ‘भगवान राम विश्वासको विषय हुन् र चाहे नेपालका प्रधानमन्त्री हुन् या अरु कोही जनताले यस्तो विषयमा खेलवाड गर्न छुट दिनेछैनन् ।’
तपाईको प्रतिक्रिया