नेपालका दलहरुसँग सम्बन्ध विस्तार गर्न आतुर छौं : भाजपा विदेश विभाग प्रमुख

समाचार

6/27/2021

काठमाडौं, १३ असार । छिमेकी मित्रराष्ट्र भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गर्न आतुर रहेको बताएका छन् ।

नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेन्टले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो पछिल्लो नेपाल भ्रमणको समयमा त्यसको शुरुवात भएपनि कोरोना महामारीका कारण रोकिएको बताए ।

उनले कोरोना महामारी सकिनासाथ दलहरुबीचको आदानप्रदानले निरन्तरता पाउने बताए । ‘दुई देशका राजनीतिक दलहरुको वीचमा हुने आदान प्रदानले दुईपक्षीय सम्बन्धलाई एकदमै सुदृढ बनाउँछ,‘उनले भने, ‘यसले एक अर्कालाई बुझ्ने, सुदृढ बनाउने र केही असमझदारी छन् भने त्यसलाई हटाउन सहयोग गर्छ ।’

उनले नेपालले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी भन्दा अन्य राम्रो नेता नपाउने समेत बताए ।

नेता चौथाइवालेले केही राजनीतिक दल भारत आएर नेपाल फर्केपछि भारत विरोधी अभिव्यक्ति दिने गरेको बताए ।

उनले भाजपा सबैभन्दा ठूलो राजनीतिक दल भएकाले नेपालका सबै राजनीतिक दलसँग सम्बन्ध गाँस्न चाहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ