काठमाडौं, ३१ बैशाख । कोरोना प्रभावले संसारभर आवातजावत लगायत वाहिरी गतिविधि ठप्प रहेका बेला चीनले सर्वोच्च शिखर सगरमाथाको उत्तरी मोहोडाबाट आरोहणका लागि नयाँ मार्ग बनाइरहेको छ । गत सोमबार नै चिनियाँ आरोपीहरु नयाँ मार्ग तयार गर्नका लागि तेस्रो क्याम्पमा पुगेका थिए ।
सि लियो नेतृत्वको ५ जना तालिमप्राप्त आरोहण गाइडले उक्त नया मार्गका लागि रोप फिक्स गरेका हुन् । नयाँ मार्ग बनाउने टीमसँगै सर्वे टिम पनि गएको छ । कम्तीमा ६ जना सम्मिलित सर्वेक्षण टिमले सगरमाथाको उचाई मापनसंगै त्यहाँको वातावरण र भूगोलबारे सर्वे गर्नेछ ।
यद्यपि नेपाल सरकारको स्वीकृति बिना सर्वे गर्न नमिल्ने भए पनि कुनै स्वीकृति वा सहमति नलिएको नापी विभागले जनाएको छ । चिनियाँ राष्ट्रिय संशाधन मन्त्रालयले ५३ जनाको सर्वेक्षणकर्ताको टोलीलाई सगरमाथाको उचाई नाप्न पठाइसकेको पनि बताइएको छ । सर्वेक्षण टोलीका सदस्यहरुलाई घुमाएपछि तिनीहरु आधार शिविरमा फर्किसकेका छन् ।
नेपालमा कोरोना भाइरसका कारण लकडाउन रहेकाले पहिलो पटक सगरमाथा आरोहणको इतिहासमा नेपालबाट बसन्त ऋतुमा कुनै आरोहण हुने छैन । प्रत्येक बर्ष नेपालबाट सगरमाथा आरोहणका लागि पर्वतारोहीहरु नेपाल आउने गर्छन । तर सगरमाथामा फाइभ जी टावर र स्टेशन राखेर चीन सगरमाथा आर्थिक गतिविधि वढाउँदै गएको छ । चीनको यो गतिविधिले नेपालले सगरमाथाबाट लिइरहेको लाभ पनि गुमाउनु पर्ने अवस्थामा पुग्न सक्ने देखिएको छ ।
केही दिनअघि सगरमाथालाई नै आफ्नो देशको भन्दै चिनियाँ सरकारी संचारमाध्यमहरुले भनेपछि यो विषय विवादित बनेको छ । तर नेपालीहरुको चर्को विरोध र लगातारको समाचार मिडियामा आइसकेपछि चिनियाँ सरकारी मिडियाहरुले वाध्य भएर सच्याएका थिए ।
तपाईको प्रतिक्रिया