नेपालगञ्ज, ३ बैशाख । कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड सङ्क्रमण उच्चगतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिए ।
नगरप्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।
बैठकले भारतबाट आउनेहरूको सीमानाका जमुनाहमा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय गरेको छ ।
मास्क अनिवार्य लगाउनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाइ गर्ने निर्णय भएको छ ।
मास्क नलगाई कारोबार गर्ने पसल व्यवसाय कम्तीमा एक साताका लागि बन्द गर्ने निर्णय समितिको छ । घरबाहिर मास्क नलगाई आवागमन गर्नेलाई कारवाही गर्न बैठकले माग गरेको छ ।
तपाईको प्रतिक्रिया