नेपालगन्ज, ९ माघ । नेपाल र भारत सरकारबीच सम्झौता भएको १५ वर्षपछि नेपालगन्ज नाकामा आईसिपी(एकिकृत भन्सार जाँच चौकी) निर्माणको काम सुरु भएको छ ।
भारत सरकारले सन् २००५ मा नेपालको बिराटनगर, बीरगन्ज, नेपालगन्ज र भैरहवा नाकामा आईसिपी निर्माण गरिदिने सहमती जनाएको थियो । बिराटनगर र बीरगन्जमा भने आईसिपी निर्माण गरी भारतले यसअघि नै नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
पश्चिम तराईको प्रमुख मानिने नेपालगन्जमा आईसिपी निर्माणको काम प्राथमिकतामा नपर्दा ढिलो गरी अहिले सुरु भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा बिगत एक महिनादेखी आईसिपी निर्माणको काम चलिरहेको छ । आईसिपी निर्माणका लागि भारतको राजदिप कन्स्ट्रक्सन कम्पनीले १ अर्ब ४७ करोड(भारु)मा ठेक्का पाएको छ ।
भारत सरकारसँग भएको सम्झौता अनुसार उक्त ठेकेदार कम्पनीले दुई वर्ष भित्रमा काम सम्पन्न गरिसक्नुपर्नेछ । भारत सरकारको सहयोगमा आईसिपी निर्माण गर्न नेपाल सरकारले एक दशक अघि जग्गा अधिग्रहण गरेको थियो ।
साविकको जयसपुर गाविसमा २०६७ मा नेपाल सरकारले जग्गा अधिग्रहण गरी संरक्षण गरेर राखेको थियो ।
आईसिपी निर्माणका लागि नेपाल सरकारको तर्फबाट सहजीकरण गर्ने जिम्मा सहरी विकास तथा भवन निर्माण विभागलाई दिइएका छ ।
सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाई नेपालगन्जका ईन्जिनियर होमनाथ भुसालले भारत सरकारले आफ्नो सहमती र प्रतिवद्धता अनुसार नेपालगन्ज नाकामा आईसिपी निर्माणको काम सुरु गरिसकेको बताए ।
तपाईको प्रतिक्रिया