नेपालगन्जमा मोहम्मद डेको हर्षोल्लास

समाचार

10/30/2020

बाँके, १४ कार्तिक । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव (मोहम्मद डे) को अवसरमा नेपालगन्जका इस्लाम धर्मावलम्बीमा आज बिहानैदेखि हर्षोल्लास छाएको छ ।

नेपालगन्जका विभिन्न स्थान बेलुन, झन्डा, बत्तीसहित सिँगारिएका छन् । इस्लाम धर्मावलम्बीहरुले बिहानैदेखि सहरका चोक(चोकमा झाँकी र बाजागाजासहित प्रदर्शन गरिरहेका छन् ।

बाँकेका इस्लाम समुदायका धर्मगुरु तथा अगुवाहरुले सामाजिक दूरी कायम गरेर मोहम्मद डे मनाउन आग्रह गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम रहेकाले सामाजिक दूरी कायम गरेर मोहम्मद डे मनाउन सबै इस्लाम धर्मावलम्बीमा आग्रह गरिएको धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए ।

उनले कोरोना भाइरस सङ्क्रमणबाट आफू सुरक्षित राख्दै चाडपर्व मनाउन नेपालगन्जवासीमा अपिलसमेत गरेका छन् ।

जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले अहिलेको विषम परिस्थितिमा स्वास्थ्य सजगताका साथ पर्व मनाउनुपर्ने बताउँदै हालै सम्पन्न भएको दसैँलगायत अन्य चाडपर्वमा देखिएको सद्भाव र सामाजिक एकतालाई मोहम्मद डे मा पनि कायम राख्न सबैमा अनुरोध गरे ।

इस्लामी पात्रोको तेस्रो महिना रविउल्ल अवलको १२ तारिखको दिन नेपाली मुसलमानसहित विश्वभरिका मुसलमान धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएको इस्लाम धर्मका गुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताए ।

उनका अनुसार आज नेपालगन्जसहित नेपालका विभिन्न स्थान तथा विश्वभरका मुसलमान धर्मावलम्बीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाइरहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ