काठमाडौं, २ कात्तिक । कात्तिक १ गतेबाट नेपाल–भारत उडान सुरु गर्ने भनिए पनि अझै टुंगो लाग्न सकेको छैन । कोरोना महामारीबीच गत चैत ११ गतेबाट बन्द रहेको नेपाल–भारत उडान सञ्चालन गर्न गत साता नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबीच छलफल भएको थियो । त्यसपछि कात्तिक १ गतेबाट नै उडान सुरु गर्ने तयारी भइरहेको भए पनि मन्त्रिपरिषद् बैठकले स्वीकृति नदिएसम्म उडान पुनः सञ्चालन नहुने देखिन्छ ।
कोरोना महामारीबीच गत भदौ १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको हो । नियमित अन्तर्राष्ट्रिय उडान खुले पनि साबिकको समयमा नेपाल उडान भर्दै आएका सबै विमान कम्पनीले आफ्नो नियमित सेवा सुरु गरेका छैनन् । कुल ३० वायुसेवा कम्पनीले नेपाल उडान भर्दै आएकोमा हाल १२ कम्पनीले मात्र नेपाल उडान भर्दै आएका छन् ।
भारतले नेपाल उडानका लागि अनुमति मागेको हो । भारततर्फको नियमित उडान सञ्चालन भइनसकेको भए पनि चार्टर्ड उडान भने हुँदै आएका छन् ।
नेपाल–भारत उडान सञ्चालन गर्न दुवै पक्ष सकारात्मक भए पनि सरकारले उडान अनुमति नदिएसम्म उडान हुन नसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । आगामी मन्त्रिपरिषद्ले निर्णय गरे उडान सुरु गर्न सकिने क्षेत्रीको भनाइ छ । प्रवक्ता क्षेत्रीले भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले पनि परराष्ट्र मन्त्रालयमा हप्तामा कम्तीमा दुई वटा हुने गरी भारत उडान सञ्चालन गर्ने सम्बन्धमा जानकारी गराइसकेको बताए । तर, सरकारले निर्णय नगरेसम्म भारत उडान कहिलेबाट हुने भन्न नसकिने प्राधिकरणको भनाइ छ ।
कोरोनाअघि नेपाल एयरलाइन्स, किङफिसर, एयरइन्डिया, भिस्टारा एयरलगायतले नेपाल–भारत उडान गर्दै आएका थिए । पहिला देनिक कम्तीमा ७ देखि बढीमा १५ वटासम्म नेपाल–भारत उडान हुने गरेको प्राधिकरण बताउँछ । लामो समयदेखि उडान बन्द हुँदा भारतमा नै अड्किएका र उडान खुल्ने प्रतीक्षामा बसेका विद्यार्थी, कर्मचारीलगायत नेपाली नेपाल–भारत उडान सञ्चालनको प्रतीक्षामा छन् ।
तपाईको प्रतिक्रिया