नेपाल–भारत सम्बन्धमा दुःखद दिन : भारतीय कांग्रेस

समाचार

6/14/2020

काठमाडौं, ३२ जेठ । नेपालले नयाँ राजनीतिक र प्रशासनिक नक्सा निशान छापमा राख्न संविधान संशोधन गरेपछि भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले त्यस दिनलाई नेपाल–भारत सम्बन्धको दुःखद दिन भएको टिप्पणी गरेको छ ।

भारतीय कांग्रेसका प्रवक्ता रणदीप सुर्जेवालले ट्विटमार्फत भनेका छन्, ‘नेपाल र भारतको वर्षौं पुरानो द्विपक्षीय सम्बन्धका लागि यो दुःखद दिन हो । नेपाल र भारतबीच यस्तो परिस्थिति सिर्जना हुनुमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्व पंक्ति जिम्मेवार छ ।’

प्रवकता सुर्जेवालले भनेका छन्, ‘आफूलाई बलियो नेतृत्व दाबी गर्ने भाजपाको नेतृत्वले राष्ट्रिय हित रक्षा गर्ने मामिलामा शुर्तमुर्गको जस्तो व्यवहार देखाएको छ ।’

कांग्रेसले टेलिभिजनका भ्रामक युद्धले परिपक्व राजनीतिक नेतृत्वको पूर्ति गर्न नसक्ने पनि दाबी गरेको छ । यसअघि १० जुनमा भारतीय कांग्रेसको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका अध्यक्ष तथा राज्यसभा नेता आनन्द शर्माले एक विज्ञप्ति जारी गर्दै नेपाल–भारत सम्बन्धको महत्व र संवेदनशीलतालाई ख्याल राख्दै तत्काल वार्तामार्फत् समस्या समाधान गर्न सरकारसँग माग गरेका थिए ।

भारत र नेपालबीचको सीमा विवादलगायतमा समस्या समाधानका लागि द्विपक्षीय संयन्त्र हुँदा हुँदै पनि अहिलेको अवस्था आउनु दुःखद भएको नेता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको थियो । दुई देशबीचको ऐतिहासिक र मित्रतापूर्ण सम्बन्धमा दरार आएकाले तत्कालै सम्बोधन हुनुपर्नेमा कांग्रेसको जोड थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ