काठमाडौं, १६ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल र भारतको सम्बन्धलाई सुमधुर बनाउनु नै महात्मा गान्धीप्रति सच्चा सम्मान हुने बताएका छन् ।
नीति अनुसन्धान प्रतिष्ठानले बिहीबार गान्धीको १५१ औं जन्मजयन्तीको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।
‘नेपाल र भारतको सम्बन्धलाई अत्यन्तै समझदारी र सुझबुझका साथ विस्तार गरेर अघि लग्यो भने महात्मा गान्धीलाई सच्चा सम्मान गरेको ठहर्नेछ’, नेता सिंहले भने ।
उनले अहिंसाको माध्यमबाट जनताले अधिकार प्राप्त गर्न सक्छन् भनेर बाटो देखाउने व्यक्तिका रुपमा विश्वले गान्धीको स्मरण गर्ने पनि बताए ।
अत्यन्त चमत्कारिक, असल र ठूलो नेताका रुपमा विश्वले गान्धीलाई चिन्ने गरेको भन्दै उनले गान्धीका विभिन्न आयामका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा नेता सिंहले २०४२ सालमा सत्याग्रहमा सरिक भएर जेल गएको व्यक्तिको नाताले एउटा सत्याग्रहीका रुपमा गान्धीका बारेमा बोल्न पाउनुलाई अवसरका रुपमा लिएको बताए ।
कांग्रेसका संस्थापक नेता गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले १९४७ मा कलकत्ताको बीरला धर्मशालामा गान्धीलाई भेटेको स्मरण नेता सिंहले गरे ।
तपाईको प्रतिक्रिया