नेपालमा उडान भर्ने भारतको प्रस्ताव अझै स्वीकार भएन

समाचार

10/7/2020

काठमाडौं, २१ असोज । नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको १ महिना वितिसक्दा पनि काठमाडौंमा उडान गर्ने भारतीय प्रस्ताव अझै स्वीकृत भएको छैन ।

नेपालले सिमित गन्तव्यमा उडान सुरु गरेपछि भारतीय पक्षले काठमाडौंमा पनि उडान गर्ने प्रस्ताव पठाएको थियो । उक्त प्रस्तावलाई नेपाल सरकारले अझै स्वीकृत गरेको छैन ।

भारतीय पक्षले नेपाल नागरिक उड्डयन प्राधिकरणमा निश्चित मापदण्डमा रहेर नियमित उडान गर्ने प्रस्ताव गरेको थियो । भारतले काठमाडौंमा हुने उडानमा भारतीय र नेपाली नागरिक मात्र यात्रा गर्न पाउने गरी उडान गर्न प्रस्ताव गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

’एयर बबल’ भनिने यो प्रकृतिको उडानमा तेस्रो देशका नागरिकले यात्रा गर्न पाउने छैनन् । सरकार तथा विमानस्थलले जारी गरेका स्वास्थ्य मापदण्ड पूरा गरेका यात्रुलाई मात्र अनुमति दिएर उडान सञ्चाल गर्न भारतल गरेको प्रस्ताव प्राधिकरणले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको थियो ।

मन्त्रालयले यस बारेमा मन्त्रिपरिषदबाट निर्णय गराउने भने पनि अहिलेसम्म निर्णय भएको छैन । भारतमा संक्रमण अझै तीव्र रुपमा बढेको तथा नियमित उडानका लागि खुला नगरिएका कारण सिसिएमसी लगायतका निकायमा यस बारेमा छलफल भइरहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

सरकारले भदौ १७ गतेदेखि काठमाडौंबाट सिमित गन्तव्यमा नेपाली नागरिकका लागिमात्र अन्तर्राष्ट्रिय उडान खोलेको थियो। त्यसपछि विस्तरै अहिले खाडीका गन्तव्यहरु चीन, हङकङ जस्ता गन्तव्यमा नियमित उडान खुला भइसकेको छ ।

७२ घण्टाभित्रको पिसिआर अनिवार्य हुनुपर्ने र नेगेटिभ नतिजा हुनुपर्ने नियम लगाइएको छ । असोज ५ गतेदेखि आन्तरिक उडान पनि खोलिसके पछि अहिले हवाइ सेवा नियमित भएको छ ।

सामन्य अवस्थामा सबैभन्दा धेरै उडान हुने काठमाडौं–दिल्ली रुट अहिले पनि बन्द रहेको छ । महामारीको समयमा सामन्य चार्टर्ड उडान भएको यो गन्तव्यमा उडान नहुँदा भारतीय एयरलाइन्सले काठमाडौं आउन पाएका छैनन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ