नेपालमा भारतको विकल्प चीन कुनै हालतमा बन्न सक्दैन : पूर्वराजदूत रे

समाचार

11/25/2019

काठमाडौं, ९ मंसिर । नेपालका लागि भारतीय पूर्वराजदूत रणजित रेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको निकटता चिन्ताको विषय भएको बताएका छन् ।

साथै नेपालका दुई ठूला कम्युनिष्ट पार्टीलाई एकता गराउन चीनले निर्णायक भूमिका खेलेको उनको दाबी छ ।

‘द वायर’ का लागि ह्याप्पिमन ज्याकोबले लिएको भिडियो अन्तर्वार्तामा रायले करिब पौने घन्टा नेपाल–भारत सम्बन्ध र नेपालमा चिनियाँ संलग्नताबारे चर्चा गरेका थिए । अन्तर्वार्ताका क्रममा उनले चीन नेपालको घरेलु राजनीतिमा पसेको आरोप लगाए ।

‘नेपाल र चीनका कम्युनिष्ट पार्टीबीच जुन सम्बन्ध विकास भइरहेको छ, त्यो चिन्ताजनक छ,’ उनले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीका मानिसहरु नेपालमै आएर नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई सी चिनफिङ विचारधाराको प्रशिक्षण दिएका छन् ।’

तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच चीनले नै एकता गराइदिएको दाबी गर्दै पूर्वराजदूत रायले भने, ‘चीन नेपालको घरेलु राजनीतिमा मज्जासित घुस्न थालेको छ । नेपालका सबै वामपन्थी शक्तिहरुलाई एक बनाउने उसको प्रयास हो ।’

यद्यपि उनले नेपालमा भारतको विकल्प चीन कुनै हालतमा बन्न नसक्ने उनको दाबी छ । उनी भन्छन्, ‘भौगोलिक वस्तुस्थिति नै यस्तो छ कि नेपाल र चीनबीच सामान ओसारपसार सम्भव छैन । चीनको नजिकको बन्दरगाह पनि नेपालबाट ३५ सय किलोमिटर टाढा छ । त्यही भएर नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयन हुन सकेको छैन ।’

भारतसँग सम्बन्ध बिग्रँदा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट सामान ल्याउने चेतावनी दिए पनि त्यो सफल नभएको रायले बताए । ‘उनीहरुले सांकेतिक रुपमा एक–दुई ट्याङ्कर तेल ल्याए । त्यसपछि त्यो बन्द भयो,’ पूर्वराजदूत रायले भने ।

राजा महेन्द्रको पालादेखि नै नेपालमा भारतसँग सम्बन्ध बिग्रँदा चीनतर्फ फर्किने प्रवृत्ति रहेको औंल्याउँदै यो कहिल्यै सफल नभएको रायले बताए । ‘१७ सालमा प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेपछि महेन्द्रले कम्युनिष्टलाई हातमा लिएका थिए,’ रायले दाबी गरे, ‘महेन्द्रकै विचारको धङधङी नेपालका कम्युनिष्ट पार्टीहरुमा छ ।’

चीनले नेपाललाई अरु सहयोग गरे पनि रेल भने नबनाइदिने रायको भविष्यवाणी छ । उनले भने, ‘मलाई लाग्दैन कि चीनले मल्टीबिलियन डलर खर्च गरेर नेपालमा रेल बनाउँछ । किनकी रेलबाट चिनियाँ सामान भारतमा पठाउने सुनिश्चित नभएसम्म त्यो बनाउनुको अर्थ हुँदैन ।’ अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ