काठमाडौं, १६ माघ । नेपालसँग गभर्नमेन्ट टु गभनर्मेन्ट ‘जीटुजी’ (सरकारी स्तरको) समझदारी गरेर रासायनिक मल बिक्री गर्न भारत सहमत भएको छ ।
गत माघ २ गते भारतमा सम्पन्न नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालले राखेको मल खरिदमा जीटूजी गर्ने प्रस्तावमा भारतले सहमति जनाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । अहिले ग्लोबल टेण्डर मार्फत नेपालले मल खरिद गरिरहेको छ ।
तीन वर्षअघि नै भारतसँग मल खरिदका लागि जीटूजी मोडल प्रस्ताव गरेपनि अहिले बल्ल समझदारी बनेको कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले बताए ।
‘परराष्ट्र मन्त्रीस्तरीय बैठकमा भारतले नेपाललाई मल दिन सहमति जनाएको छ, हामीले जीटूजीको मोडल बनाउन तयारी थालेका छौं,’सचिव कार्कीले भने ।
जीटूजीमा मल खरिदबारे भारतसँग भएको समझदारी कार्यान्वयन गर्न परराष्ट्रमार्फत कृषि मन्त्रालयलाई पत्राचार भएको पनि सचिव कार्कीले बताए । भारतले कति परिमाणमा नेपाललाई मल उपलब्ध गराउने र त्यासको प्रक्रिया के हुने भन्नेबारे मन्त्रालयले प्रारम्भिक चरणको छलफल सुरु गरिसकेको बताएको छ ।
हाल पेट्रोलियम पदार्थ खरिदकै मोडलमा मल खरिद गर्ने गरी भूसालले भारत, चीन, ओमन, संयुक्त अरब इमिरेट्स लगायतका मुलुकसंग परामर्श सुरु गरेका थिए ।
तपाईको प्रतिक्रिया