काठमाडौं, २८ कार्तिक । केरुङ–रसुवागढी नाकामा चीनले १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेको छ । यो नाकाबन्दीको मारमा चीनबाट नेपाल सामान ल्याएर व्यापार गर्ने व्यापारी परेका छन् । नेपाली व्यापारीको सामान झण्डै ११ महिनादेखि नाकामा रोकिएको छ । नाकामा रहेको सामानको भाडा, सामान किन्न लिएको ऋणले व्यापारी थलिएका छन् भने उनीहरु हतोत्साही पनि भएका छन् ।
नेपाली व्यवसायीले चीनमा अर्डर गरेका अर्बौंका सामान खासा, केरुङलगायत चिनियाँ बजारमै अड्किएका छन् । नेपाली व्यवसायीले चीनबाट अर्बोका समान ल्याउन चीनले अनेकौं बखेडा गरिरहेको छ । उसले एक प्रकारले नेपालविरुद्ध अघोषित नाकाबन्दी नै गरेको छ ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार कोभिड–१९ का कारण पछिल्लो नौ महिनादेखि करिब १७ अर्बको गार्मेन्ट, जुत्ताचप्पल, मोबाइल एसोसरिज, इलेक्ट्रोनिक्सका सामान र उपकरण, विभिन्न प्रकारका कच्चापदार्थलगायत चीनतर्फ अड्केको हो ।
चीनले तातोपानी र रसुवागढी नाकाबाट मालसामान ल्याउने बाटो फुकाए पनि पर्याप्त परिमाणमा भने निर्यात गर्न दिएको छैन । ती दुवै नाकाबाट अत्यन्तै थोरै परिमाणमा मालसामानसहितको कन्टेनर आउँदा व्यापारी लगानी डुब्ने चिन्तामा परेका छन् ।
विगतमा नेपाली व्यवसायीको कन्टेनर तातोपानी हुँदै चीनको खासासम्म सोझै जान पाउँथ्यो । खासामा सामान लोड गरी १५ दिनमा काठमाडौं आउँथ्यो । दैनिक रूपमा उक्त नाकामार्फत ५० देखि १ सय कन्टेनरसम्म सामान आउँथ्यो । रसुवातर्फ केरुङ (चीनतर्फको भूभाग)सम्म नेपाली कन्टेनर पनि जान पाउँथ्यो । तर, पछिल्लो समय कोभिडको समस्या देखाएर केरुङ र खासासम्म नेपाली कन्टेनरलाई जान दिइएको छैन ।
चिनियाँ पक्षले कोभिड–१९ को समस्या सिर्जना भएपछि नेपाली कन्टेनरलाई तातोपानी र रसुवातर्फको मितेरी पुलसम्म मात्रै जान अनुमति दिएको छ ।
नेपाली व्यवसायीले ती दुवै नाकाको मितेरी पुलसम्म दैनिक ५० देखि १ सय कन्टेनरसम्म आउनुपर्ने माग गर्दै आएका छन् । कनिका छरेजस्तो दैनिक ४–५ कन्टेनर झारेका कारण नेपाली व्यवसायीहरु आर्थिक मारमा परेका छन् ।
नौ महिनादेखि आउन नसकेको करिब १७ सय कन्टेनरको सामान कुन अवस्थामा छ भन्ने सोचेर मानसिक र आर्थिक पीडा थपिएको आयातकर्ता व्यापारीको भनाइ छ । यो विषयमा तर हालसम्म कूटनीतिक रुपमा समस्याको कुनै समाधान भएको छैन ।
सरकारी अधिकारीहरुकाअनुसार कोभिड–१९ को विषयमा चिनियाँ पक्षलाई आश्वस्त गर्न नसक्दा समस्या सिर्जना भएको हो ।
तातोपानी नाका हुँदै दसैंअघि नै ल्याउने तयारी गरिएका सामान अब खासाबाट काठमाडौं पु¥याउन अझै डेढ महिना लाग्ने देखिएको छ । चिनियाँ पक्षले सीमित मात्र गाडी खासाबाट तातोपानी सुख्खा बन्दरगाहसम्म पठाइरहेका छन् । नाका खुलेको ६ दिनमा जम्मा १६ कन्टेनर सामान मात्र भित्रिएको छ ।
नेपाली व्यवसायीले दसैंअघि नै झण्डै १ सय ५० कन्टेनर सामान खासामा स्टोर गरेका थिए । चिनियाँ पक्षले अहिलेकै गतिमा सामान छाड्ने हो भने जाडोका लागि अर्डर गरिएका सामान गर्मी र गर्मीका लागि अर्डर गरिएका सामान जाडोमा आइपुग्छ ।
त्यसकारण व्यवसायीको लगानी डुब्ने खतरा बढ्दै गएको छ । खासाबाहेक ल्हासा र सिगात्सेमा रहेका सामानसमेत कसरी ल्याउने भन्ने चिन्ताले पनि व्यवसायीलाई सताएको छ ।
हिमालय सीमापार वाणिज्य संघले सरकारले कूटनीतिक पहल नगर्दा व्यवसायीको लगानी डुब्ने अवस्थामा पुगेको बताएका छ । नेपाल र चीन सरकारको स्पष्ट कुरा नआउँदा पनि व्यवसायीका करोडौं रुपैयाँ चिनियाँ स्टोरमा थन्किएको छ ।
यस्तै, रसुवागढी नाकामा कोरोनाका कारण चिनियाँ गाडीबाट मात्र सामान ल्याउने सहमति भएका कारण अर्डरअनुसार आयात हुन सकेको छैन ।
चीनको केरुङतर्फ सामान लिन नेपाली गाडी जान नपाउने र चीनका पाँच गाडीले मात्र नेपालसम्मको सिमानामा सामान ल्याएर बुझाउने भएका कारण व्यापारीले अर्डर गरेअनुसार जाडोका सामान ल्याउन नपाएका हुन् । व्यापारीका अनुसार १० अर्बभन्दा बढी मूल्यको सामान चीनको केरुङमै रोकिएका छन् ।
व्यवसायीले गरे आत्महत्या
नेपाली व्यवसायीले चीनबाट सामान ल्याउन नपाउँदा चर्को ऋणमा मात्र होइन, आत्महत्या पनि गरेका छन् । ११ महिनादेखि नेपाल–चीन सीमामा सामान रोकिएर व्यापार व्यवसाय ठप्प भएका व्यापारी हरेराम पौडेलले आत्महत्या गरेका छन् ।
उनले आफ्नै काठमाडौँ पेप्सीकोलामा डोरीको पासो लगाएर आत्महत्या गरेका छन् । आत्महत्याको यकिन कारण खुलेको छैन । तर लामो समयदेखि व्यापार व्यवसाय ठप्प हुँदा ऋणको बोझ बढेर ज्यान गुमाएको हुनसक्ने अनुमान छ ।
कोभिड–१९ को संक्रमणपछि गत पुसदेखि चीनले आफ्ना सबै नाका सिल गरेको थियो । चीनको वुहानमा सबैभन्दा पहिले भाइरस देखिएपछि नाका सिल गर्दा तातोपानी र केरुङ दुवै नाकामा नेपालीका २ हजार कन्टेनर सामान अड्किएका छन् । केरुङ नाकामा मात्र अझै नेपाली व्यवसायीका १ हजार कन्टेनर सामान थन्किएका छन् ।
धर्नामा बस्ने चेतावनी
चीनले एकतर्फी रुपमा सीमा बन्द गरेका कारण भएको समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै नाकामै धर्ना बस्ने चेतावनी दिएका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले दश महिनादेखि चिनियाँ नाकामा रोकिएका कन्टेनरहरु सहज रुपमा नेपाल भित्रन नसकेको र सरकारले समेत पहल नगरेको भन्दै नाका सहज बनाउन सरकारसँग माग समेत गरेका छन् ।
संघका अध्यक्ष नरेश कटुवालले जारी गरेको विज्ञप्तिमा नाकामा देखिएका समस्या समाधानका लागि सरकारसँग पटकपटक आग्रह गरे पनि समस्या समाधान नभएको बताएका छन् ।
परराष्ट्रमन्त्री, प्रतिपक्षी दलका नेता लगाएतका सबै शिर्ष नेताहरुलाई समस्याका बारेमा जानकारी गराएपछि केरुङ, तातोपानी नाका खुला गरिएको भएपनि अहिले समेत मालवस्तुहरु सहज रुपमा नेपाल भित्रन नसकेको महासंघले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नाकाहरुमा अहिले पनि धेरै कन्टेरहरु रोकिएका छन् । तर दिनमा एक र बढीमा दुईवटामात्रै कन्टेनर चिनियाँ पक्षले नेपाल भित्रन दिइरहेको छ । नेपालतर्फ कुनै समस्या नहुँदा समेत सहज रुपले सामान नभित्रिदा नेपाल सरकारले कुटनितिक पहल नै गर्न नसकेको भन्ने प्रष्ट छ ।’
सीमा नाकामा अत्यधिक भाडा वृद्धि र सिण्डिकेट समेतको अन्त्य गरी कुटनीतिक पहलबाट नाका सहज बनाउन हामी सरकारलाई आग्रह गर्दै समस्या समाधान नभए नाकामै धर्ना बस्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ,‘कुटनीतिक पहलबाट नाका सहज बनाउन सरकार समक्ष विनम्र अनुरोध गर्न चाहन्छौं । यदि यि समस्याहरु समाधान नहुने हो भने महासंघमा आवद्ध उद्योगी–व्यवसायीहरु नाकामै गएर धर्ना बस्न बाध्य हुने चेतावनी समेत दिन चाहान्छौं ।’
कोरोनाका कारण देखाउँदै चीनले नेपालसँगको सिमानाका बन्द गरेका कारण १० महिनादेखि नेपाली व्यवसायीहरुको सामान चिनिया नाकामै रोकिएको व्यवयासीहरुले बताएका छन् ।
तपाईको प्रतिक्रिया