काठमाडौँ, १० पुस । भारतका एक मात्र र पहिलो अन्तरिक्षयात्री राकेश शर्माले नेपाली विद्यार्थीहरुसँग अनलाइन मार्फत अन्तरक्रिया गरेका छन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले आयोजना गरेको भर्च्युअल कार्यक्रममा उनी खुला रुपमा प्रस्तुत भए ।
अन्तरक्रियामा उनले आफनो बाल्यकालदे सबै अनुभव सुनाए । उनी भारतीय एयर फोर्समा सन् १९७० मा फाइटर पाइलट बने । अन्तरिक्षयात्री हुँदै विङ कमान्डरबाट एयर फोर्सबाट शर्माले अवकाश पाए ।
सन् १९८०मा तत्कालीन सोभियत युनियन र भारतको भारतीय अन्तरिक्ष संस्था(इस्रो)बीच इन्टर कसमोस प्रोगामसम्बन्धी सम्झौता भयो । सम्झौता अनुसार भारत र रुसबीच संयुक्त रुपमा अन्तरिक्षको अध्ययन र अनुसन्धानका लागि अन्तरिक्षयात्रीहरु लैजाने उल्लेख थियो । त्यसका लागि शर्मा र रविस मल्होत्रा तालिमका लागि छनोट भए ।
शर्मा अनुसार अन्तरिक्षयात्रीका लागि शारीरिक रुपमा स्वस्थ्य, जिओ फोर्सहरुसँग थेग्न सक्ने लगायत विभिन्न किसिमबाट शरीरलाई फिट बनाउनुपर्ने आवश्यकता हुन्छ ।
अन्तरिक्षमा जाने यात्रीहरुलाई लन्च हुनुभन्दा अघि पनि उनीहरुको फिजिकल फिटनेश जाँचिन्छ । स्पेसमा हुँदा धेरै खालको परीक्षणको आवश्यकता हुन्छ । शरीरका सबै सूचकहरु स्वस्थ्य र राम्रो देखिएपछि मात्रै जान पाइन्छ । अन्तरिक्षमा ’स्पेस सिक्नेस’ को समस्या देखिने जोखिम पनि उत्तिकै हुन्छ । त्यसबाट कसरी बँच्ने भन्ने किसिमका तालिमहरु पनि आवश्यक पर्ने शर्माले बताए ।
२० औं शताब्दीमा अन्तरिक्षयात्री हुनका लागि पाइलट तालिम अनिवार्य भएपनि २१ औं शताब्दीमा जो कोही अन्तरिक्षयात्री हुन सक्ने शर्माले नेपाली विद्यार्थी तथा युवाहरु राखेको जिज्ञासमा बताए ।
भारतको अशोक चक्र र तत्कालीन सोभियत युनियनको ’हिरो अफ सोभियत युनियन’ अवार्डबाट सम्मानित शर्माले नेपाल र भारतबीच अन्तरिक्षका क्षेत्रमा काम गर्ने धेरै क्षेत्रहरु भएको बताए । भारत नेपाल लगायत अन्य मुलुकहरुसँग शान्तिपूर्ण कार्यका लागि अन्तरिक्षको क्षेत्रमा काम गर्न इच्छुक रहेको उनले बताए ।
शर्मासँग अनलाइन मार्फत प्रत्यक्ष रुपमा सवाल जवाफको संयोजन नासोका अध्यक्ष सुरेश भट्टराईले गरेका थिए । उनीसँगको प्रत्यक्ष संवादमा भारत,नेपाल लगायतका मुलुकहरुबाट सयौं युवाहरुको उपस्थिती थियो ।
तपाईको प्रतिक्रिया