झापा, ८ चैत । चालीस वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका इलामको माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा आइपुगेका छन् ।
कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन् र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उहाँलाई दमदम कारागारले रिहा गरिदिएको थियो ।
उनी काँकडभिट्टा आइतबार आइपुगेका हुन् । कोलकाताबाट शनिबार स्थलमार्गहुँदै कार चढेर काँकडभिट्टा आउँदा विश्व सेवा विस्तार नामक उद्धार संस्था, सञ्चारकर्मी र आफन्तले उनलाई फूलमाला र खादा लगाएर स्वागत गरेका थिए ।
काँकडभिट्टामा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो देश आउन पाएकामा खुशी व्यक्त गर्दै आफू निर्दोष अवस्थामा जेलमा यातनापूर्वक थुनिएको बताए । उनले आफ्नी आमालाई भेट्न आतुर भएको बताए ।
अदालतले मानसिक स्वास्थ्यको कारण जनाउँदै रिहाइको आदेश दिँदा छ÷छ महिनामा उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन भनेको उनका भाइ प्रकाशचन्द्रले बताए । उनको मुद्दाको अन्तिम फैसला नभइसकेको प्रकाशचन्द्रले जानकारी दिए ।
दार्जिलिङमा जुन घरमा दुर्गाप्रसाद आश्रय लिएर बसेका थिए । त्यही घरकी पत्नीको चियाबारीमा विभत्स हत्या भएपछि त्यसको दोष उनीमाथि थोपरिएको थियो । तर उनीमाथि लगाइएको आरोप झुठो भएको बताइएको छ ।
प्रहरीमा झुठो आरोप दर्ता भएपछि कथित पीडितका तर्फबाट एकपल्ट पनि मुद्दा फ्लोअप नभएको र बिना सुनुवाइ सजाय सुनाउँदै दुर्गाप्रसादलाई कारागार सार्दै दमदममा पु¥याइएको पाइएको छ ।
हराएका मानिसको खोजीमा सघाउने संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतले बङ्गाल रेडियो क्लबसँगको सम्पर्कपछि इलाममा दुर्गाप्रसादका भाइ प्रकाशचन्द्रसँग सम्पर्क गरेका थिए ।
घरमा दुर्गाप्रसादका आमा धनमाया वृद्धास्थामा छिन् । उनी सात वर्षकै हुँदा बुवा चम्पाखरको निधन भएको थियो । दुर्घटनामा परी आमा धनमायाको एउटा हाट काटेर फाल्नुपरेको थियो ।
रातभरि अनिँदो अवस्थामा गाडी चढेर काँकडभिट्टा आइपुगेका दुर्गाप्रसादले पत्रकारसँग हाँसो साट्ने र थोरै बोल्न मात्र सके । उनका भाइ प्रकाशचन्द्रले इलामबाट थप आफन्तहरु काँकडभिट्टा आइपुगेपछि पहिलो मिलन गराएर घर पु¥याइने बताए ।
तपाईको प्रतिक्रिया