काठमाडौं, ३ असोज । हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली भूभागमा भवन निर्माण गरेको पाइएको छ । दुई देशको सिमानाभन्दा एक किलोमिटर यता नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पु¥याएको छ ।
केही दिनअघि लाप्चा क्षेत्र पुगेर फर्किएका नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए ।
लाप्चा क्षेत्रको नेपाली भूभाग गबु याल्मामा ती ब्लक बनेको बताउँदै आफू उक्त क्षेत्रमा जान खोज्दा त्यहाँ भएका मानिसहरु गाडी चढेर चिनियाँ भूभागतर्फ लागेको उनले बताए ।
उनका अनुसार सो क्षेत्र नेपाली भूभाग भएपनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न समेत दिने गरेका छैनन् । तर चिनियाँ सुरक्षाकर्मीहरु गाडीमा नेपाली भूभागमा भने ओहोरदोहोर गरिरहन्छन् ।
हाल भवन निर्माण भएको स्थानभन्दा केही परको डाँडामा १२ नम्बर सिमा स्तम्भ रहेको छ । त्योसँगै ११ नम्बर सिमा स्तम्भ भने हराएको छ । जो हालसम्म पत्ता लगाउन सकिएको छैन । वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले पनि भवन निर्माण गरिएको क्षेत्र नेपाली भूभाग भएको बताए ।
तपाईको प्रतिक्रिया