नेपाल भारत सीमाका २० नाकालाई प्रवेश बिन्दु तोकियो

समाचार

6/3/2020

काठमाडौं, २१ जेठ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार इलाम–पशुपतिनगर, झापा–काँकडभिट्टा, मोरङ–रानी, सप्तरी–कुनौली, सिरहा–ठाडी र माडर, महोत्तरी–भिट्टामोड, सर्लाही–मलङ्गवा, रौतहट–गौर, पर्सा–वीरगञ्ज, नवलपरासी–महेश्वपुर, रुपन्देही– वेवहिया तथा कपिलवस्तु–तौलिहवा र कृष्णनगरलाई प्रवेश विन्दु तोकिएको छ ।

यस्तै बाँके–खजुरा, बर्दिया–सुरजपुर र गुलरिया, कैलाली–गौरीफन्टा, कञ्चनपुर–गड्डाचौकी, बैतडी– झुलाघाट र दार्चुलाको– दार्चुलालाई प्रवेश विन्दु नाका तोक्ने निर्णय गरेको हो ।

कोभिड–१९ को महामारी जोखिम बढ्दै गएको अवस्थामा स्वदेश फर्कनेको सहज व्यवस्थापन, रोग नियन्त्रण र बिरामी पहिचान गर्न सकियोस् भन्ने हेतु सरकारले उक्त व्यवस्था गरेको हो ।

भारतबाहेकका देशबाट भने काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भएर स्वदेश फर्कनेछन् । अन्तर्रा्ष्ट्रिय उडान बन्द रहेकाले हवाई मार्ग भएर स्वदेश फर्कने क्रम अहिले ठप्प छ । विदेशमा रहेका केही नेपालीलाई प्राथमिकीकरण पहिलो चरणमा नेपाल ल्याउन सरकारले गृहकार्य गरिरहेको छ ।

रोजगारी, अध्ययन र उपचारका लागि भारतका विभिन्न क्षेत्रमा रहेका नेपाली नागरिक कोभिड–१९ कारण लकडाउन भएपछि पनि ठूलो सङ्ख्यामा स्वदेश फर्कने क्रम जारी रहेको छ ।

लकडाउनका कारण उनीहरु रोजगारी गुमाएर तथा विद्यालय बन्द भएपछि जन्मभूमि फर्केका हुन् । स्वदेश फर्केने क्रममा धेरै दुःख, कष्ट र हण्डर खेप्न तथा दुव्र्यवहार भोग्नु परेको तथा कयौँ दिन भोकभोकै पैदल यात्र गरी नेपाल–भारत सीमा क्षेत्रमा आइपुग्न सफल भएको स्वदेश फर्किएका केही नेपालीले प्रतिक्रिया दिइरहेका छन् ।

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि गरिएको लकडाउनका कारण प्रारम्भिक दिनमा स्वदेश फर्कन चाहने नेपालीलाई केही अप्ठेरो भए पनि पछिल्ला दिनमा केही हदसम्म त्यसको उचित व्यवस्थान हुँदै आएको छ ।

कैयौँ नागरिक नाकाबाट सहज प्रवेश नपाएपछि जङ्गल, बस्ती र खेतबाट नेपाल प्रवेश गर्दा कोभिड–१९ को सङ्क्रमण फैलनाका साथै फर्केकालाई व्यवस्थापन गर्न हम्मेहम्मे परेपछि सरकारले प्रवेश विन्दु तोकेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ