काठमाडौं, १५ असोज । चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुले आपत्ति जनाएका छन् ।
हुम्लामा चीनले अतिक्रमण गरेको नेपाली भूमिको विषयमा आएको सरकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको काँग्रेसले राजदूत पाण्डेले चिनियाँ शासनप्रणाली अनुकरणीय भन्दै दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएको छ ।
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा विवाद भइरहेका बेला चीनका लागि राजदूत पाण्डेले दिएको अभिव्यक्तिप्रति प्रश्न उठाएका हुन् ।
निधिले सत्ताधारी दलका यी र यस्ता अभिव्यक्तिका कारण वर्तमान राजनीतिक प्रणालीमाथि खतरा उत्पन्न भएको बताए ।
यस्तै नेपाली काँग्रेसका नेता गगन थापाले पनि राजदूत पाण्डेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारको आधिकारी धारणा के हो भन्द प्रश्न गरेका छन् ।
थापाले ग्लोबल टाईम्समा राजदूत पाण्डले दिएको अन्तरवार्तामा व्यक्त विचार र भाषा कुटनीतिज्ञको मर्यादा विपरीत भएको बताए ।
अन्तराष्ट्रिय सम्बन्ध जस्तो संवेदनशील विषयमा राजदूतबाट हलुका टिप्पणी सदा अवाञ्छनीय हुने थापाको भनाइ छ ।
यसैगरी काँग्रेसका नेता गुरुराज घिमिरेलले राजदूत पाण्डेको अभिव्यक्ति संवेदनहीन र गैरकुटनीतिक भएको दाबी गरे । उनले ट्वीटरमा लेखेका छन्,‘नेपालको हुम्ला जिल्लाको भौगोलिक सीमाका विषयमा बेइजिङमा रहेका नेपालका राजदूत पाण्डेको अभिव्यक्ति संवेदनहीन र गैरकुटनीतिक देखिन्छ ।’
उनले थपेका छन्, ‘उनको काम राष्ट्रको हितमा चीनसँगको सम्बन्धलाई अझ सुमधुर बनाउने हो । एउटा छिमेकीको अनावश्यक पैरवी गरेर अर्को छिमेकीलाई आधारहीन गाली गर्ने होइन ।’
यस्तै काँग्रेसका नेता उदय शमशेर राणाले पनि विदेशमा रहेका नेपाली राजदूतहरुले राष्ट्रिय हितका रुपमा सेवा गर्दै नेपालको पक्षमा बोल्नुको सट्टा राजदूत भएको देशको पक्षमा बोल्दै आएको टिप्पणी गरे ।
पूर्व अर्थराज्यमन्त्री समेत रहेका नेता राणाले राजदूतले आफूले गर्नुपर्ने भन्दा विपरीत काम गरेको बताए ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि नेपालको सार्वभौमिकता र सीमा सम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा वास्तविकता सार्वजनिक गर्न गरिएको विलम्वले सरकारको नियतमाथि गम्भीर प्रश्न खडा भएको बताए ।
चीनसँगको सीमा विवाद नभएको तथा अहिले मिडियामा आइरहेको विषय भारतको इसारामा प्रोपोगण्डाको रुपमा आइरहेको राजदूत पाण्डेले अन्तर्वार्ताका क्रममा बताएका थिए ।
तपाईको प्रतिक्रिया