नेपालगञ्ज, २३ माघ । बाँके र बर्दिया जिल्लाको पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि गरिदै आएको ‘टुर दि ठाकुरद्वारा’ शुरु भएको छ ।
नेपाल र भारतका एक सय ५० जना साइकलयात्री सहभागी ‘टुर दि ठाकुरद्वारा’ आज बिहान नेपालगञ्जको बागेश्वरी मन्दिरबाट शुरु भएको हो ।
‘टुर दि ठाकुरद्वारा’ को पर्यटन बोर्डका कार्यकारी निर्देशक धनन्जय रेग्मी, नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा र नाटाका केन्द्रीय अध्यक्ष अच्यूत गुरागाईले उद्घाटन गरे ।
रेग्मी, राणा र गुरागाईले पर्यटन क्षेत्रको पहिचान र प्रचार प्रसारका लागि ‘टुर दि ठाकुरद्वारा’ले ठूलो सहयोग पु¥याउने बताए ।
विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वमा रहेको साइकलयात्री नेपालगञ्ज बजारको परिक्रमा पछि बाँकेको जानकी, खजुरा गाउँपालिका हुँदै बर्दियाको बढैयाताल, गुलरिया, मधुवनको डल्ला होमस्टे भएर ठाकुरद्वारा पुग्ने कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिए ।
ठाकुरबाबा मन्दिरको दर्शन, बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण, नेपालकै लामो पुल गुरुवा कर्णालीको घुमेर थारु सांस्कृतिक कार्यक्रम गरिने छ ।
२५ गते बबई हुँदै सत्खलुवातालको अवलोकन गर्दै बाँसगढी नगरपालिकामा रहेको ओम केदारेश्वर धाममा आइपुगेर ‘टुर दि ठाकुरद्वारा’ समापन हुने नेपालगञ्ज साइक्लिङ क्लवका अध्यक्ष गगन थापाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया