काठमाडौं, १८ माघ । भारतको सिक्किम नेपालसँग सडक सम्बन्धले जोडिएको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती विन्दु मानिएको पाँचथरको चिवाभन्ज्याङमा सिक्किमतर्फबाट सडकको ट्रयाक जोडिएको हो ।
नेपालतर्फ सिमानामा सडक भए पनि भारततर्फ थिएन । लामो समयको पर्खाइपछि भारतबाट निर्माण गरिएको सडक चिवाभन्ज्याङमा जोडिएको छ ।
पश्चिम सिक्किमको उत्तरेबजापालको चिवाभन्ज्याङसम्म सडक जोडिएको हो । यो ट्रयाक खुलेसँगै सिक्किमको नेपालसँग सिधा सडक सम्बन्ध स्थापना भएको छ ।
उत्तरेबाट सोक्पाखा, जरिबुटे, भालुवाले हुदै चिवाभन्ज्याङसम्म सडक आइपुगेको हो । सोक्पाखाबाट चिवाभन्ज्याङसम्मको सडक २५ किलोमिटर लामो छ ।
यो सिक्किम सरकारको प्राथमिकताको योजना थियो। सिमानाले छुट्याए पनि मैत्रीपूर्ण सम्बन्ध छ । व्यापारिक र पर्यटकीय हिसाबले पनि यो सडक महत्पूर्ण रहेको बताइन्छ । चिवाभन्ज्याङमा नेपाल–भारत दुवैतर्फका सुरक्षा पोस्ट छन् ।
नेपालतर्फ चर्चित मध्यपहाडी लोकमार्गको सडक पुगेको एकदशक पुग्न लाग्दा भारतको सिक्किमबाट पनि यहाँ सडक जोडिएको हो ।
समुद्री सतहदेखि १० हजार २ सय ९९ फिट उचाइमा रहेको चिवाभन्ज्याङलाई दुई देशको सडकले जोडेको हो । नेपालको ९९ किलोमिटर सीमा सिक्किमसँग जोडिएको छ ।
तपाईको प्रतिक्रिया