काठमाडौं, २९ असार । नेपाल सद्भावना पार्टीले विभिन्न २२ बुँदे माग अघि सारेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले यस्ता माग अघि सारेको हो ।
पत्रकार सम्मेलनमा अध्यक्ष रामकुमार महतोले हिन्दी भाषालाई नेपालको राष्ट्रिय सम्पर्क भाषाको रुपमा संविधानमा दर्ता गराउनु पर्ने माग गरे ।
अध्यक्ष महतोले नागरिकता प्रमाण–पत्रको समस्या दिन–प्रतिदिन जटिल अवस्थामा गइरहेको उल्लेख गर्दै भने, ‘नागरिकताको समस्या रोजी–रोटीसँग जोडिएको छ ।’ नागरिकताको समस्या समाधान र समान नागरिकको अधिकारको लागि भएको उनको भनाई थियो ।
राज्यको पुनर्संरचना गरेर काठमाडौंलाई केन्द्र बनाएर स्थानीय र सात प्रदेशलाई हटाएर पाँच प्रदेश मात्र बनाउनुपर्नेमा उनले जोड दिए ।
‘काठमाडौं उपत्यकाका आसपासका क्षेत्रलाई केन्द्र शासिक प्रदेश बनाउनु पर्ने र पूर्वी पहाड प्रदेश, पश्चिमी पहाड प्रदेश, पूर्वी मधेश प्रदेश र पश्चिम मधेश प्रदेशलाई स्वायक्त प्रदेश बनाउनुपर्छ,’ उनले भने ।
उनले अप्रमाणित मुद्दामा षड्यन्त्रपूर्वक वर्षौदेखि जेलमा राखिएका मधेशी नेता रेशम चौधरीलगायत अन्य कार्यकर्ताको झुठा मुद्दा खारेज गरेर सकुशल रिहाई गर्न सरकारसँग माग गरे ।
कार्यक्रममा अध्यक्ष महतोले संवैधानिक र राजनीतिक उच्च पदको लागि कार्यकालको निश्चित गर्नुपर्नेमा जोड दिए ।
उनले नेपाल सरकार र मधेशबीच भएको २२ र ८ बुंदे सम्झौताको पूर्ण व्यवहारिक कार्यान्वयन गर्नुपर्ने बताए । जर्बजस्ती जारी भएको संविधान नेपालको पुरै जनताको लागि हो भन्दै महतोले आफूहरुको संघर्ष संविधान संशोधनको लागि भएको बताए ।
तपाईको प्रतिक्रिया