नेपाली सेनाले मधेशी जनतासँग अपनत्व बढाउने गरी कार्यहरु गर्न थालेको छ : मुख्यमन्त्री राउत

समाचार

6/30/2021

जनकपुरधाम, १६ असार । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले महोत्तरीको बर्दिवासस्थित नेपाली सेनाको मध्यपुर्वी पृतना हेडक्वाटरमा रामजानकी बाटिकाको शिलान्यास गरेका छन् ।

प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको उक्त बाटिकाको शिलान्यास मुख्यमन्त्री राउतले बुधबार एक कार्यक्रमबीच हिन्दु परम्परा अनुसार गरेका हुन् ।

पृतनापति सुरेश कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बर्दिवास नपाका प्रमुख बिदुर कार्की, प्रदेश सरकारका प्रतिनिधिहरु, नेपाली सेनाका विभिन्न दर्जाका अधिकृतहरुको उपस्थिति रहेको थियो ।

बाटिकामा मिथिला संस्कृतिका लगायत नेपालको साझा संस्कृति झल्काउने रामजानकीको पुर्णकदको प्रतिमा, पृथ्वीनारायण शाहको प्रतिमा, राष्ट्रिय प्रतीक, नेपाली सेनाको लोगो, मिथिला संस्कृति झल्काउने विभिन्न सामग्रीका साथै गौरीशंकर हिमाल को प्रतीकात्मक स्वरूप निर्माण गरिने पृतना पति कार्कीले जनाएका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री राउतले मधेशका जनताहरुले नेपाली सेनाप्रतिको अपनत्व ग्रहण गर्न नसकिरहेको अवस्थामा नेपाली सेनाले पछिल्लो समयमा मधेशी जनतासँग अपनत्व बढाउने गरि कार्यहरु गर्न लागेकोमा धन्यवाद व्यक्त गरे ।

कोभिड महामारी जस्तो विषम् परिस्थितिमा प्रदेशका जनताहरुका लागि नेपाली सेनाले प्रदेश सरकारसँगको समन्वयमा गरेको कार्यहरु प्रशंसनीय रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सराकार नेपाली सेनासँगको सहकार्यलाई सदैब निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ