कैलाली, १५ फागुन । धनगढीमा बुधबारदेखि विश्व नेपाली साहित्य महोत्सव सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्सवको उद्घाटन गरिन् ।
महोत्सवको उद्घाटन गर्दै उनले–सुदूरपश्चिम प्रदेश कला साहित्य र संस्कृतिको उर्वर भूमि भएको बताएकी छिन् । राष्ट्रपति भण्डारीले सुदूरपश्चिम प्रदेश मौलिक परम्परा रहनसहन र भेषभुषाको विशिष्ट पहिचान बोकेको भन्दै प्रशंसा गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले पहलमानसिंह स्वार र जयपृथ्वीबहादुर सिंहलाई समेत स्मरण गरिन् । ‘यो प्रदेश मौलिक परम्परा रहनसहन र भेषभुषाको विशिष्ट पहिचान बोकेको प्रदेश हो,’ उनले भनिन्, ‘पहलमानसिंह स्वार, जयपृथ्वीबहादुर सिंहलगायतको अमर स्रष्टाहरुको प्रदेशमा मात्रै होइन देशमा पनि अतुलनीय योगदान रहेको छ ।’
विश्व साहित्य महोत्सवले विश्वभरी छरिएर रहेका नेपालीबीच भाषिक तथा भावनात्मक एकता पवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्बाह गर्ने राष्ट्रपति भण्डारीले बताइन् । ‘नेपाली भाषा विश्वको उन्नत भाषाको रूपमा रहेको छ,’ उनले भनिन्, ‘यो राष्ट्रिय एकतालाई प्रवर्धन गर्ने महत्वपूर्ण माध्यम बनेको हो ।’
कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । राष्ट्रपति भण्डारीलाई समेत कार्यक्रममा नागरिक अभिनन्दन गरिएको थियो । सुदूरपश्चिम साहित्य समाजको आयोजनामा बुधबारबाट सुरु भएको महोत्सव फागुन २० गतेसम्म सञ्चालन हुने छ । विश्व साहित्य महोत्सवमा साहित्य, राजनीति, समसामयिकलगायत विभिन्न विषयमा सत्रहरू रहेका छन् ।
तपाईको प्रतिक्रिया