नयाँ नक्सा बनाउने सरकारी निर्णयको सांसदद्वारा स्वागत

समाचार

5/19/2020

काठमाडौं, ६ जेठ । प्रतिनिधिसभाका सदस्यहरुले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै तत्कालै नक्सा सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

नेपाल सरकारको आगामी आबको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफका सम्बन्धमा स्पष्टीकरण माग गर्दै सांसदहरुले तत्कालै नक्सा सार्वजनिक गर्न माग गरेका छन् । यसका लागि सरकारलाई संसद् र राजनीतिक दलले पूर्ण सहयोग गर्नेसमेत उनीहरुले प्रतिबद्धता जनाएका छन् ।

कालापानी लिम्पियाधुरा लिपुलेकलाई समेटेर नक्सा सार्वजनिक गर्ने सरकारको निर्णयको स्वागत गर्दै नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले भने, ‘सडक उद्घाटन गरेपछि मात्रै थाहा हुने अवस्था किन आयो ? कसका त्रुटिले हो ? जवाफ चाहियो ।’ उनले कूटनीतिकरूपमा छिमेकी देशसँग छलफल कति भयो जानकारी भन्दै जानकारी माग गरे ।

नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णयको स्वागत गर्दै उक्त विषयमा विभिन्न आशङ्का उब्जिरहेको बताए । उनले नक्साको कदापि दुरुपयोग नहुने विश्वास व्यक्त गरे ।

सांसद प्रेम सुवालले सरकारले स्वीकृत गरेको नक्सा सार्वजनिक किन नगरेको भन्दै प्रश्न उठाए । सांसद भारत शाहले लिपुलेक क्षेत्रमा भारतले बाटो बनाए पनि चीनले त्यस्तैै बाटो नबनाएसम्म सञ्चालन नहुने भएकाले चीनलाई पनि त्यस्तै कूटनीतिक नोट पठाउनुपर्ने आवश्यकता औँल्याए । त्यस विषयमा सरकारको तयारी के छ भन्दै उनले प्रधानमन्त्री ओलीको जवाफ मागे ।

काँग्रेसका सांसद मीनेन्द्रप्रसाद रिजालले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नक्सा जारी गर्ने सरकराको निर्णयको स्वागत गरे । अतिक्रमित भूभाग फिर्ता गराउन सरकारलाई संसद र काँग्रेसले के सहयोग गर्नुपर्ने हो सहयोग गर्न तयार रहेको भन्दै उनले प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ