नयाँ सत्ता समीकरणबारे प्रचण्ड–नेपाल पक्ष र जसपाबीच छलफल

समाचार

2/25/2021

काठमाडौं, १३ फागुन । नयाँ सत्ता समीकरण निर्माण गर्ने विषयमा कम्युनिस्ट पार्टी (प्रचण्ड–नेपाल) पक्षले जनता समाजवादी पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेको छ ।

नेकपाको पार्टी कार्यालय पेरिस डाँडामा भएको छलफलमा प्रचण्ड—नेपाल पक्ष खेमाका पुष्पकमल दाहाल र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

छलफलका क्रममा जसपा अध्यक्ष ठाकुरले प्रचण्ड र नेपाललाई आफ्नो लाइन प्रष्ट्र पार्न आग्रह गरे । ठाकुरले मधेश एजेन्डालाई आफूहरूले प्राथमिकता दिएको बताउँदै त्यसबारे प्रचण्ड–नेपाल पक्षको प्रष्ट धारणा माग गरे ।

छलफलमा जसपा नेपालका नेताहरुले सरकारमा सहभागी हुनका लागि केही सर्त अगाडि पनि सारेका छन् । जसपाका नेताहरुले संविधान संशोधन, रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइ भएपछि मात्र सरकारमा सहभागी हुनका लागि छलफल गर्न सकिने धारणा राखेको स्रोतले जनाएको छ ।

विगतमा पनि सहकार्यको नाममा उधारो सहमति गरेर सरकारमा सहभागी गराइएको तर ती सम्झौताहरु कुनै कार्यान्वयन नभएको गुनासो उनीहरुले गरे ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि सो समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालले अन्य राजनीतिक दलसँग परामर्श गरिरहेका छन् ।

अब बन्ने सरकारले संविधान संशोधन, आन्दोलनका क्रममा थुनामा रहेका नेतालाई रिहाइ लगायतका विषयलाई साझा एजेण्डा बनाए मात्र सत्ता सहकार्यका लागि छलफल गर्ने कुरा राखेको छलफलमा सहभागी एक नेताले बताए ।

त्यस विषयमा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले मधेशको माग पुरा गर्न आफूहरु शुरुदेखि सकारात्मक रहेको त्यसका लागि प्रयास पनि गरेको आउने दिनमा पनि त्यसको बारेमा छलफल गरेर अगाडि बढ्न सकिने बताएका थिए ।

छलफलमा आगामी दिनमा सहकार्य गरेर जानको निम्ति नेकपा प्रचण्ड माधव पक्षले प्रस्ताव गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताए । छलफलमा जसपा नेताहरुले प्रचण्ड–माधव पक्षको पार्टी कुन हो स्पष्ट पार्नका लागि आग्रह गरेको पनि उनले बताए ।

आफूहरुले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको पनि वरिष्ठ नेता महतोले बताए ।

जसपा नेता राजेन्द्र श्रेष्ठका अनुसार वर्तमान परिस्थितिका बारेमा छलफल भएको हो । उनले छलफलमा प्रचण्ड र नेपालले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरको सरकार बनाउनका लागि सहकार्य गर्न प्रस्ताव गरे बताए ।

तर, जसपाले त्यसमा सहमति भने जनाइसकेको छैन । संसद् पुनःस्थापनापछिको परिस्थितिमा कसरी अघि बढ्ने भन्नेबारे कुरा भएको जानकारी दिदँ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरुबीच एक भएर जानुपर्छ भन्नुभयो । हामीले त्यसमा भएका समस्याहरु के–के छन्, सबै हेरौँ । तपाईंहरुको औपचारिक प्रस्ताव प्राप्त भयो । हामी पार्टीमा छलफल गरेर जवाफ दिन्छौँ भन्यौँ ।’

अबको सरकार संघीय लोकतान्त्रिक गणतन्त्र पक्षरको बनाउने भने पनि कसको नेतृत्वमा बनाउने भन्ने विषयमा भने छलफल नभएको श्रेष्ठले बताए । जसपाले संविधान संशोधन र थुनामा रहेका रेशम चौधरी रिहाइको माग गर्दै आएको छ ।

जसपासँग प्रतिनिसभामा ३४ जना सांसद भए पनि दुईजना निलम्बको अवस्थामा छन् । प्रचण्ड–नेपाल पक्षले ओली कित्तामा गएका कम्तिमा १९ जना सांसद आफ्नो पक्षमा ल्याएको खण्डमा ओली र कांग्रेस समेतलाई बाहिर राखेर सरकार बनाउन सम्भव देखिन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ