काठमाडौं, १९ माघ । सरकारले नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग पुनः छलफल गरेको छ । सरकारले भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी हवाईमार्ग प्रवेशको लागि भारत सरकारसँग छलफल गरेको छ ।
नेपालले पछिल्लो करिब सात वर्षदेखि नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग छलफल गर्दै आएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको माघको पहिलो साता भएको भारतको भ्रमणको क्रममा नयाँ हवाई रुटका विषयमा छलफल भएको थियो ।
भारतीय समकक्षीसँग भएको भेटवार्ताको क्रममा नेपालले प्राथमिकताका साथ नयाँ हवाई रुटको एजेन्डाका विषयमा छलफल गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।
नेपालले माग गरेअनुसार भारतले नयाँ हवाई प्रवेश मार्ग उपलब्ध गराएको अवस्थामा उडान खर्च र समयको बचत हुनुका साथै हवाई ट्राफिक जामको समस्या पनि समाधान हुने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।
प्रायः एउटै रुटबाट आगमन हुँदा हवाई ट्राफिक जामका साथै उडान तालिका प्रभावित र लामो समयसम्म आकाशमै विमान ‘होल्ड’ गर्नुपर्ने बाध्यता नेपालले भोग्दै आएको छ ।
हाल प्रयोग भइरहेका रुटबाहेक थप रुट उपलब्ध भएको अवस्थामा व्यवस्थापन गर्न सहज हुने क्षेत्रीको भनाइ छ । कम्तीमा भैरहवा र नेपालगन्ज रुटका लागि मात्रै भारत सकारात्मक हुने हो भने नेपाल छिर्ने विमानका लागि दूरी निकै घट्नेछ ।
तपाईको प्रतिक्रिया