निरिक्षण टोली भन्छ–नेपालीमाथि चिनियाँ ज्यादती बढ्दो

समाचार

10/14/2020

काठमाडौं, २८ असोज । चीनसँग सीमा जोडिएको हुम्लामा १० वटा मुख्य तथा सहायक सीमा स्तम्भमा गरिएको निरिक्षणका क्रममा ५ वटामा चीनले अतिक्रमण गरेको पाइएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन बहादुर शाही नेतृत्वको, स्थानिय जनप्रतिनिधीहरु र पत्रकारहरुसहितको टोलीले हुम्लाको सीमामा जोडिएको ४ नम्बर सीमा स्तम्भ बाहेक ५ देखि १२ सम्मका सबै मुख्य तथा सहायक स्तम्भहरुको निरिक्षण गरेको थियो ।

निरिक्षणका क्रममा १२ नम्बर सीमा स्तम्भ फुटाएर नयाँ बनाइएको पाइएको कांग्रेस केन्द्रीय सदस्य जीवन बहादुर शाहीले बताए । त्यहाँ नयाँ सीमा स्तम्भ बनाउँदा अवस्थिति समेत परिवर्तन गरेको पाइएको शाहीले जानकारी दिए । सीमास्तम्भहरुको अवस्थितिको जानकाररी दिदै शाहीले भने, ‘सीमा स्तम्भ नम्बर १० र ११ ठीक देखिन्छ । ९(२) छोडेर घेरवार गर्नुपर्नेमा त्यसो नगरि स्तम्भको आधाबाटै तारवार घेरिएको छ । ९(१), ८(१) र ७(१) हाम्रै भूमीमा हुम्ला कर्णालीवारी भएकोले सीमा हेरफेर भएको छैन । ५(१) र ६(१) सीमास्तम्भ चीनतीर पारेर नेपालतिर तारवार लगाइएको पाइएको छ। ५ नम्बर जंगे पिलर भत्काएर खोलामा फाली नयाँ बनाएका छन् । त्यहाँ पनि मिचिएको देखिएको छ ।’

शाहीले भने, ‘५ नम्बर स्तम्भको १५ मिटरको आसपासमा चिनियाँ चौकी रहेको छ । त्यहाँ जाँदा नेपाली प्रहरीलाई नै ढुंगामुढा गरियो । त्यसैगरी ७ नम्बर पिलरमा जान उनीहरु नेपाली भूमी प्रयोग गरेर आउँछन । उनीहरुले जुन छुट पाएका छन् नेपालीहरुलाई त्यो छुट छैन । त्यो सुविधा उनीहरुले सीमामा रहेका नेपाली सुरक्षाकर्मीलाई पनि दिएका छैनन् । सीमाका नेपालीहरुलाई धम्क्याउने र ज्यादती गर्ने काम भइरहेको छ । समान व्यवहार छैन ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ