काठमाडौं, ६ बैशाख । संसद्को चौथो ठूलो दल जनता समाजवादी पार्टी जसपा पछिल्लो समय सत्ता समीकरणमा साँचो बनेको छ । जसपाले जसलाई समर्थन गर्छ सरकार उसैको हुन्छ ।
अर्थात जसपाले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई समर्थन ग¥यो भने सम्भवतः आगामी निर्वाचनसम्म यहि सरकार रहिरहन्छ तर यदि जसपाले नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्रको गठबन्धनलाई समर्थन गर्छ भने तीन दलसहितको नयाँ सरकार बन्न सक्छ ।
त्यसकारण अहिले नयाँ सरकार निर्माण र सरकार ढाल्ने खेलमा जसपा निर्णायक बनेको छ । फलस्वरुप पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षको तानातानमा परेका छन् । यद्यपि नयाँ सरकार निर्माणको विषयमा पार्टीभित्र दुई कित्ता देखिएको छ । एउटा कित्ताको नेतृत्व ठाकुर र अर्को कित्ताको नेतृत्व यादवले गरिरहेका छन् ।
ठाकुर ओली नेतृत्वको सरकारलाई समर्थन दिएर आफनो माग पूरा गराउने पक्षमा छन् भने यादवसहित संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टाराई ओलीको विपक्षमा छन् । उनीहरु ओली सरकार छिटोभन्दा छिटो मुक्त होस् चाहेका छन् ।
२०७७ वैशाख १० गते तत्कालिन दुई तात्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादीवीच एकीकरण भई जनता समाजवादी पार्टी निर्माण भएको हो । पार्टी एकीकरण हुनु र सत्ता समीकरणमा निर्णायक मानिनु जसपाको लागि ठूलो उपलब्धि हो ।
पार्टी एकीकरण भएर जसपा निर्माण भए पछि यो पार्टी एउटा शक्तिको रुपमा उदय त भयो तर यसले आफ्नो शक्तिलाई उजागर गर्न सकेको छैन । सरकार परिवर्तनको अहिलेको समयमा जसपा निर्णायक शक्ति भएर सत्ताको साँचो हातमा परेपनि आफ्नो सामथ्र्य देखाउन सर्वथा असफल भएको छ । अहिले जसपामा सत्ता समीकरणमा मुख्य भूमिकामा देखिए पनि पार्टीको आन्तरिक कारणले निर्णय लिन सकिरहेको छैन ।
कुनै बेला मधेशी दलहरूले उठाएका मागको बारेमा सुन्नै नचाहने प्रधानमन्त्री केपी ओली अहिले जसपाले उठाएका माग पूरा गर्न सकारात्मक बनेका छन् । कुनै बेला मधेश विरोधी मानिने ओली अहिले जसपाका माग पूरा गराउन प्रक्रिया नै थाल्न गर्नु जसपाकालागि ठूलो उपलब्धि होर ।
प्रधानमन्त्रीले जसपाका माग पूरा गर्न एउटा कार्यदलसमेत गठन गरेका छन् । कार्यदलमा दुवै पक्षका नेताहरूलाई राखिएको छर । जसपाले उठाउँदै आएका मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भइरहेको कार्य दलका सदस्यहरू बताउँछन् ।
उपसभामुखमा चासो
प्रतिनिधिसभमा उपसभामुखको पद रिक्त छ । प्रधानमन्त्री ओलीले जसपासँग मिलेर उपसभामुखलगायत संवैधानिक आयोगमा भागबण्डा गर्न तयार देखिएका छन् । सत्ता समीकरणमा मुख्य भूमिका देखिएका जसपा अध्यक्ष यादव र ठाकुर दुवैलाई दुवै पक्षले सत्ता समीरकणमा प्रस्ताव गरेका छन् ।
यादव माओवादी केन्द्रसँग निकट देखिएका छन् भने ठाकुर ओलीसँग निकट देखिएका छन् । दोस्रो ठूलो दल नेपाली कांग्रेसले पनि जसपाँसग छलफल र संवाद अघि बढाएको छ । वर्तमान ओली सरकारलाई ढालेर आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेसले जसपासँग प्रस्ताव राखेको छ ।
जसपालाई अहिले दुवैतिर सत्ता साझेदारीको प्रस्ताव आएको छ । प्रतिनिधिसभामा जसपाको ३४ जना सांसदको उपस्थिति छर । ३४ मध्ये दुईजना सांसद रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन् । जसपाका ठाकुर पक्षीय नेताहरुले जसपाले उठाएको मुद्दा कार्यान्वयन भए यो सरकारलाई समर्थन गर्न सकिने बताउँछन् ।
सत्ता समीकरणको साँचो हातमा लिएर बसेको जसपा अनिर्णयको बन्दी बन्नुमा पार्टीको आन्तरिक कारण मुख्य हो । पार्टी स्पष्ट रुपमा दुई कित्तामा बाँडिएको छर । पार्टीका दोश्रा तहका नेताहरू पनि दुई धारमा बाडिएका छन् ।
पार्टीभत्र विवाद यसरी बढ्दै गएको छ कि, पार्टीले आगामी वैशाख १०गते मनाउन लागेको स्थापना दिवस पनि प्रभावित हुने देखिएको छ । पार्टीभित्र विवाद बढ्दै गएपछि दुई दलका संसदीय दलको समायोजन हुन सकेको छैन ।
अहिले पनि तत्कालीन राजपा र तत्कालीन समाजवादीको संसदीय दल अस्तित्वमै छन् । सिंहदरबारमा अलग अलग ठाउँमा संसदीय दलका कार्यालय रहँदै आएको छ । राजपाका संसदीय दलको नेता ठाकुर हुन् भने समाजवादीका संसदीय दलका नेता यादव हुन् । दुवै पार्टीमा अलग अलग संसदीय दलका प्रमुख सचेतक छन् ।
पूर्व राजपाका अध्यक्ष मण्डलका ६ जना सदस्यमध्ये महेन्द्र यादवबाहेक अरु सबैले ठाकुरलाई साथ दिएका छन् । पूर्वसमाजवादीका डा. बाबुराम भट्टराईले यादवलाई साथ दिएका छन् ।
जसपामा समायोजनको प्रक्रिया सुरु भए पनि निकै सुस्त छ । पार्टीको प्रभाव मानिने प्रदेश २ र लु्म्बिनी प्रदेशको एउटा जिल्लामा समायोजन टुंगिएको छैन । तत्कालीन राजपा र समाजवादीको प्रभाव नै नभएका विकट हिमाली र पहाडी जिल्लामा मात्र समायोजनको काम टुंगिएको छ ।
तर कतिपय नेताहरुले जसपाको अहिलेको ध्यान सत्ता समीकरण भन्दा आफ्ना मुद्दा कार्यान्वयन विषयमा केन्द्रित भएको दाबी गर्छन । जसपाले उठाएका माग ओली सरकारले पूरा गर्न प्रक्रिया अघि बढाए पनि त्यो सत्ता समीकरणसँग सम्बन्धित नरहेको उनीहरुको तर्क छ ।
नेपाली कांग्रेसले केही दिन अघि माओवादी केन्द्र र जसपाका नेताहरूसँग बोलाई सत्ता समीकरणको विषयमा छलफल गरेको थियो । उक्त छलफलमा कांग्रेस सभापति देउवाले केपी ओली नेतृत्वको सरकार ढाली आफ्नै नेतृत्वको नयाँ सरकार बनाउन माओवादी केन्द्र र जसपासँग प्रस्ताव गरेका थिए ।
देउवाको उक्त प्रस्तावका बारेमा आन्तरिक छलफल गरेर जबाब दिने जसपाका नेताहरुले बताएका थिए । तर त्यसबारे जसपाले अहिलेसम्म कुनै जबाब दिएको छैन ।
तपाईको प्रतिक्रिया