काठमाडौं, ३१ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारतले निर्यात खुला गरेपछि कोभिड १९ विरुद्धको खोप पाउने पहिलो मुलुक नेपाल हुने दाबी गरेका छन् ।
मन्त्रालयमा मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘भारतले अहिले आफ्नै देशमा संक्रमण बढेका कारण अन्य देशलाई खोप पठाइरहेको छैन । तर ढुक्क हुनुस् निर्यात खुला गरेपछि कोभिड १९ विरुद्धको खोप पाउने पहिलो देश नेपाल नै हुनेछ ।’
नेपालले भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप आउन बाँकी छ ।
खोपका लागि सरकारले सिरमलाई ४ डलर प्रतिखोपका दरले २० लाख डोजको भुक्तानी गरिसकेको छ ।
भारत र चीन सरकारबाट १० र ८ लाख डोज गरी नेपालले १८ लाख डोज खोप अनुदानमा पाएको थियो भने १० लाख सरकारले खरिद गरेर ल्याएको थियो ।
त्यसबाहेक ३ लाख ४८ हजार डोज विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रममार्फत् आएको गरी हालसम्म नेपालमा ३१ लाख ४८ हजार कोभिड १९ विरुद्धको खोप आइपुगेको छ । सरकारले असारसम्म ७२ प्रतिशत जनसंख्यालाई खोप दिइसक्ने जनाउँदै आएको छ ।
हालसम्म १८ लाख ५० हजार ५७० जनाले तीन चरणमा गरी कोभिड १९ विरुद्धको खोप लगाइसकेका छन् ।
तपाईको प्रतिक्रिया