नवलपरासी (बर्दघाट पश्चिम), ७ असोज । बाढीपीडितका लागि भारत सरकारले उपलब्ध गराएको टेन्ट र त्रिपाल नवलपरासी (बर्दघाट पश्चिम)मा नेपाल–भारत महिला मैत्री समाजले हस्तान्तरण गरेको छ ।
समाजकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले मंगलबार नवलपरासी (बर्दघाट पश्चिम) का सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाका बाढीपीडितहरुका लागि टेन्ट र त्रिपाल प्रदान गरेकी छन् ।
सांसद चौधरीले १०५ टेन्ट तथा १६० त्रिपाल नेपाल गण्डक सिंचाई परियोजनाको कार्यालय परिसरमा गाउँपालिका अध्यक्षलाइ हस्तान्तरण गरेकी हुन् ।
जिल्ला विपद् व्यवस्थान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको अध्यक्षतामा भएको एक कार्यक्रमका बीच संस्थाकी अध्यक्ष चौधरीले उक्त टेन्ट प्रतापपुर गाउँपालिकाकी कार्यकारी अध्यक्ष अन्जु चौधरी तथा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीलाइ हस्तान्तरण गरिन् ।
उक्त टेन्ट तथा त्रिपाल प्रतापपुरका वडा ३ र सरावल गाउँपालिकाका वडा ६ र ७ मा वितरण गरिने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
नेपालका ५ जिल्लामा बाढी पहिरोबाट पीडित परिवारहरुलाई वितरणका लागि आपतकालीन राहत सामग्रीको रुपमा त्रिपाल र टेन्ट भारत सरकारले नेपाल–भारत महिलामैत्री समाजलाई प्रदान गरेको थियो ।
तपाईको प्रतिक्रिया