निशान छाप सर्वसहमतिले पारित, संशोधनको पक्षमा २५८, विपक्षमा शून्य

समाचार

6/13/2020

काठमाडौं, ३१ जेठ । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसहमतिले पारित भएको छ । योसँगै नेपालको नक्साले पूर्णता पाएको हो ।

लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ ।

शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो ।

संविधानको अनुसूचि ३ मा रहेको निशान छाप परिवर्तन भएको छ । संविधान संशोधनको पक्षमा उपस्थिति २५८ जना सांसदले मतदान गरेका छन् । विधेयकको विपक्षमा कसैले पनि मतदान गरेनन् ।

संशोधनमाथि संशोधन हालेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले मतदान प्रक्रियामा सहभागी भइनन् । उनको विधेयक सभामुखले अस्वीकृत गरेपछि संसदबाट उनी बाहिरिएकी थिइन् । सांसद गिरीलाई आफ्नो विचार राख्ने मौकासमेत नदिएपछि उनी बाहिरिएको प्रतिक्रिया दिएकी छन् ।

यता, जसपाका नेताहरुले आफूहरु राष्ट्रियताको सवालमा जहिले पनि एकताबद्ध रहेको बताउँदै निशान छापमा मतदान गरेको बताएका छन् ।

जसपाका नेता मो. इस्तियाक राईले भने, ‘‪संविधान संशोधनको पक्षमा मतदान गर्यौ ।‬ ‪अब भूमि फिर्ता ल्याउने जिम्मा सरकारको‬ हो ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ