निषेधाज्ञाको विरोधमा प्रदर्शन

समाचार

8/28/2020

जनकपुरधाम, १२ भाद्र । निषेधाज्ञाको नाममा व्यापारीहरुलाई धारासायी गर्ने काम भइरहेको भन्दै धनुषा चेम्बर अफ कमर्सले जनकपुरमा विरोध प्रदर्शन गरेको छ ।

जनकपुरमा उद्योगी व्यवसायीले भुक्तानी गरेको करले सरकारले तलब भत्ता खाने सरकारदेखि सम्पूर्ण निकायका कर्मचारीहरुले सेवा सुविधा लिइरहेको समयमा व्यापारीहरु मात्र मारमा परेको भन्दै जनकपुरस्थित जनक चोकमा चेम्बरको अगुवाईमा व्यापारीहरुले बिहीबार प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनको क्रममा धनुषा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले व्यापारीहरू सरकारी कर, बैंक ब्याज, पसल भाड़ा, आर्थिक खÞर्चको मार खेपिरहेको समयमा पनि सरकारले व्यापारीहरूलाई नै निषेधाज्ञाको नाम व्यापार व्यवसाय चौपट बनाउने काम गरेको आरोप लगाए ।

दुइ चरण गरी १ सय २० दिनको लामो लकडाउन र निषेधाज्ञाको मार, बैंकको ब्याज, सरकारी कर, पसलको भाडा र दैनिक घर चलाउने भार थेग्न नसक्ने उद्योगी व्यापारीहरु सरकारलाई आफ्नो व्यथा सुनाउन र त्यसको निराकरणका लागि सांकेतिक विरोध प्रदर्शन गरेको उनले जनाए ।

व्यवसायीहरुले लकडाउन अवधि भरका लागि खाद्यान्न सामग्री उपलब्ध गराउनुपर्ने, आइसोलेसन, क्वारेन्टाइन एवं कोभिड अस्पतालको यथाशीघ्र उचित ब्यवस्थापन हुनुपर्ने र सीमावर्ती क्षेत्र पूर्ण रुपमा सील गर्नुपर्ने लगायतका मागहरु राख्दै स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको सांकेतिक विरोध जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ