पुजारी हत्या प्रकरणमा प्रहरीले गलत प्रतिवेदन दिएको भन्दै प्रभु साहको आपत्ति

समाचार

9/6/2020

रौतहट, २१ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले रौतहटमा हत्या भएको पुजारी श्रीराम साहको प्रकरणमा प्रहरीले गलत प्रतिवेदन पेश गरेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार सामाजिक संजाल फेसबूक मार्फत सांसद साहले गलत अनुसन्धान रिपोर्ट गरेकोले संलग्न प्रहरीलाई निलम्बन गरी पुनः छानबिन गर्न माग गरेका हुन् । गरुडामा भएको निरन्जन रामको हत्यापछि हिरासतमा विजय रामको हत्या भएपछि विवादित भएको प्रहरीले पुनः अर्को पुजारी हत्यामा पनि यस्तै पर्दा हाल्न खोजेको उनको आरोप छ ।

प्रदेश प्रहरी कार्यालयले आर्थिक लेनदेनका कारण पुजारीको हत्या भएको भनी प्रतिवेदन सार्वजनिक गरेको थियो । पुजारीका परिवारका सदस्य उनको कुनै आर्थिक लेनदेन नरहेको भनी शनिवार संचारकर्मीहरु समक्ष दुखेसो पोखेका थिए । यता हिरासतमा रहेका रामनरेश पटेल र वालकुमार पटेलका परिवारले पनि आफुहरुको कुनै किसिमको आर्थिक कारोबार नरहेको स्पष्ट पारिसकेका छन् ।

सांसद साहले उक्त घटनालाई मोडेर वास्तविक घटना र अपराधीलाई लुकाउने प्रयास गरिएकोले निष्पक्ष छानबिन गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

‘गरुडा ‘निरन्जन राम’ हत्याको अनुसन्धानमा रौतहट प्रहरीको गलत भुमिकाको कारणले विजय रामको मृत्यु भएको चर्चा सेलाउन नपाउदै फेरि ‘पुजारी हत्याकाण्ड’ मा पनि प्रहरीको भुमिका माथि गम्भिर प्रश्न उठन थालेको छ । पुजारी हत्याकाण्डमा नेपाल प्रहरीले गरेको गहिरो छानबिन एवं अनुसंधानको हवाला दिंदै प्रदेश प्रहरी कार्यालयले पुजारीको हत्या लेनदेनको कारण भएको लिखित प्रतिवेदन सार्वजनिक ग¥यो’ उनले लेखेका छन ‘जब कि वहाँहरूको बीचमा कुनै लेनदेन नै भएको थिएन । जसको खण्डन दुई पक्ष अर्थात् पुजारीको परिवार र प्रतिवादीको बुवाले गरिसकेका छन । वहाँहरूले हाम्रो बिचमा कुनै लेनदेन र झै–झगडा समेत नरहेको बताईरहेको अवस्थामा प्रहरीको उक्त प्रतिवेदन माथी कसरी बिश्वास गर्ने ?’

‘यहाँ त घटनालाई मोडेर वास्तविक घटना र अपराधीलाई लुकाउने प्रयास गरिएको स्पष्ट हुन्छ । कÞुनै पनि घटनाको निष्पक्ष छानबिन गरि “दुधको दुध पानीको पानी” बाहिर ल्याउनु प्रहरीको कर्तव्य हो तर यसरी दिन दहाडै रातलाई दिन बताउने प्रहरीको कार्यलाई किमार्थ सही मान्न सकिन्न’ उनी थप्छन् ।
‘यसर्थ यस घटनाको अनुसंधानमा संलग्न प्रहरी अधिकृत एवं प्रतिवेदन सार्वजनिक गर्ने पदाधिकारीहरुलाई तुरन्त निलम्बन गरि घटनाको पुनः छानबिन गर्न जरूरी छ । यसप्रति नेपाल सरकार गृह मन्त्रालयको गम्भिर ध्यानाकर्षण होस ।’

माधवनारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिरको पुजारी श्रीराम साहको भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर हत्या गरिएको थियो । घटनामा संलग्न मुख्य अपराधीलाई जोगाउन षड्यन्त्र भएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ