पेट्रोलियम पाइपलाइनबाट एक महिनामा १० करोड लिटर डिजेल आयात

समाचार

1/5/2021

काठमाडौँ, २१ पुस । मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिसेम्बरमा मात्रै १० करोड लिटर डिजेल आयात भएको छ । पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि ७७ करोड ८० लाख ९३ हजार लिटर (७ लाख ७८ हजार ९३ किलोलिटर) आयात भएको पाइपलाइन परियोजनाका प्रोजेक्ट म्यानेजर भरत रेग्मीले जानकारी दिए । यसमध्ये डिसेम्बरमा मात्रै १० करोड लिटर आएको उनको भनाइ छ ।

‘डिसेम्बरमा पाइपलाइनबाट औसत प्रतिघण्टा २ सय ४० किलोलिटरका दरले डिजेल प्रवाह भयो । यसअनुसार एक महिनामै पहिलो पटक १० हजार लिटर (१ लाख किलोलिटर) आयात भएको छ,’ निगमको प्रदेश २ प्रादेशिक कार्यालय बारा अमलेखगन्जका प्रमुख समेत रहेका रेग्मीले भने । यसअघि पाइपलाइनबाट प्रतिघण्टा २ सय किलोलिटर आयात गर्न गाह्रो थियो । अहिले २ सय ४० किलोलिटरसम्म आयात भएको निगमको दाबी छ । पेट्रोलियम पाइपलाइनबाट २०७६ भदौ २४ देखि औपचारिक रूपमा डिजेल आयात सुरु भएको हो ।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले पनि मासिक औसतमा ७० हजारदेखि ७५ हजार किलोलिटर आयात भइरहेको डिजेल डिसेम्बरमा १ लाख किलोलिटर पुगेको उनको भनाइ छ ।

अमलेखगन्जमा निगमको २० हजार किलोलिटर क्षमताको ट्यांक छ । पाइपलाइनबाट आयातित डिजेल त्यहीँ भण्डारण गरिन्छ । त्यहाँबाट काठमाडौं, भैरहवा, विराटनगर, जनकपुरलगायत क्षेत्रमा पठाइन्छ । ‘अमलेखगन्जमा मौज्दात क्षमता कम भए पनि स्थानीय खपतका अतिरिक्त अन्य डिपोमा पनि पठाउने गरेका छौं,’ उपाध्यायले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ