काठमाडौं, ९ माघ । वार्षिक दुई खर्ब ५० अर्बको कारोबारलाई नियमन गर्न पेट्रोलियम पदार्थसम्बन्धी सामान्यदेखि उच्च तहको तालिम लिन भारत जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।
नेपाल आयल निगमले थानकोटमा तल्लो तहका प्राविधिकदेखि निर्देशक तहसम्मको कर्मचारीलाई तालिम दिने गरी सुविधासम्पन्न ताालिम केन्द्र निर्माणको सुरुवात गर्न लागेको हो । आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको तालिम केन्द्र नेपालकै पहिलो हुनेछ ।
तालिम केन्द्र निर्माणका लागि निगमको एक टोलीले इन्डियन आयल कर्पोरेसन (आइओसी)को तालिम विभागसँग प्राविधिक सहयोग लिने समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
मुम्बईस्थित आइओसीको कर्पोरेट कार्यालयमा आयल निगमको बागमती प्रादेशिक कार्यालय प्रमुख प्रदीप यादव र आइओसीको तालिम केन्द्र विभागका प्रमुख महाप्रबन्धक (सिजिएम) एमआर दासबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
यो तालिम केन्द्रमा चालक, सहचालक, पेट्रोलियम व्यवसायीदेखि निगमको सामान्य प्राविधिक (ब्राउजर अपरेटर)देखि निर्देशक तहसम्मका कर्मचारीलाई चाहिने प्राविधिक ज्ञान दिन सकिनेछ ।
‘तालिम केन्द्र बनेपछि पेट्रोलियमसम्बन्धी टे«निङका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । यहाँ सामान्यदेखि उच्चस्तरका तालिमहरू प्रदान गर्न सकिने सुविधा उपलब्ध हुनेछ’ यादवले भने ।
तालिम केन्द्रको अभावमा बर्सेनि निगमको धेरै कर्मचारीहरू आइओसीको भारतमा रहेका विभिन्न तालिम केन्द्रमा जाने गरेका छन् ।
तपाईको प्रतिक्रिया