पीडित उखु किसान पुगे शितल निवास, समस्या समाधान गर्न राष्ट्रपति भण्डारीले पहल गर्ने

समाचार

11/9/2020

काठमाडौं, २४ कार्तिक । उखु किसानहरुको पीडाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले चासो लिएकी छन् । उखु किसान संघर्ष समिति सर्लाहीका प्रतिनिधिहरुले राष्ट्रपति भण्डारीलाई भेटेर आफ्नो पीडा सुनाएका छन् ।

सोमबार राष्ट्रपति कार्यालय पुगेका उखु किसानहरुको समस्यामा राष्ट्रपति भण्डारीले चाँसो लिँदै किसानहरुको समस्या समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराउने र सक्दो चाँडो किसानको समस्या समाधान गराउन पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।

किसानहरुले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले वर्षौदेखि नपाएको बक्यौता रकम पाउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

उखु किसान संघर्ष समितिका संरक्षक राकेशकुमार मिश्रले मन्त्रालयले २०७६ पुस १८ गते उखु किसानसँग गरेको सम्झौता अझै कार्यान्वयन नभएको भन्दै छिटोभन्दा छिटो भुक्तानी पाउने व्यवस्था मिलाईदिन आग्रह गरे ।

मन्त्रालयको समन्वयमा उखु किसान र उद्योगीबीच जायज्यथा बिक्री गरेर भएपनि २०७६ माघ ७ गतेभित्र किसानहरुको सम्पूर्ण बाँकी बक्यौता रकम चुक्ता गर्ने लिखित सम्झौता भएको थियो । तर सरकारले अहिलेसम्म पनि बक्यौता रकम भुक्तानी गराउन नसकेको गुनासो किसानहरुले गरेका छन् ।

राष्ट्रपति भण्डारीले कृषि प्रधान देशमा कृषकहरुका लागि मल खाद्यको उद्योग नहुनु चिन्ताको विषय रहेको बताएकी थिइन् । उनले आफू पनि किसान परिवारबाटै आएकोले किसानको समस्यामा सरकारलाई ध्यानाकर्षण गराउने र समस्या समाधान गराउन पहल गर्ने किसानहरुलाई प्रतिबद्धतासमेत दिइन् ।

किसानहरुको प्रतिनिधिको रुपमा चिनिएका जसपा नेता राकेश मिश्रको संरक्षणमा किसानहरुले पाउनुपर्ने भुक्तानीका लागि चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

गत वर्ष काठमाडौंकेन्द्रित आन्दोलन गर्दा सरकारले सहमति गर्दा पनि कार्यान्वयन भएको भन्दै राष्ट्रपतिसमक्ष किसानहरु पुगेका छन् । किसानहरुको टोलीमा मधेश मामिलाका जानकारी डा.राजेश अहिराजको पनि उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ