जनकपुरधाम, ६ जेठ । धनुषाका वरिष्ठ पत्रकार दिलिप घिमिरेका निधन भएको छ । ६३ वर्षीय पत्रकार घिमिरेको क्यान्सर रोगका कारण काठमाडौंमा बुधबार निधन भएको हो ।
प्रदेश २ को हतिसर्वा महोत्तरीमा २०१४ जेठ १४ गते माता शोभादेवी र पिता छविन्द्र घिमिरेको कोखबाट जेठो सन्तानको रुपमा जन्म लिएका घिमिरेले २०३२÷३३ सालबाट जनकपुरधामबाट पत्रकारिता आरम्भ गरेका थिए ।
तत्कालीन समयमा उनले जनकपुरबाट कुलदीप प्रसाद कुमुदको प्रकाशन र सम्पादनमा ‘ज्योति’ साप्ताहिक र काठमाडौंबाट प्रकशित हुने ‘मातृभूमि’ र ‘समीक्षा’ साप्ताहिकबाट पत्रकारिता आरम्भ गरेका थिए । उनले पछि २०३८ सालबाट आफ्नै प्रकाशन र सम्पादनमा ‘हिमज्योति साप्ताहिक’ प्रकाशनमा ल्याएका थिए । जुन अद्यापि प्रकाशित भइरहेको छ ।
वाम विचारधाराका वरिष्ठ पत्रकार घिमिरे पञ्चायती व्यस्थाको घोर विरोधी थिए । पञ्चायत व्यवस्थाको विरोधमा उनले लेखेका समाचार पत्रिकामा प्रकाशित भएपछि २०३५ सालमा शासकले पक्राउ गरेर राजकाज मुद्दासमेत चलाएको थियो ।
उनलाई हत्या समेतको योजना योजना बनाइएको थियो । २०४६ सालमा प्रजातन्त्रको पुनर्वहालीका लागि भएको आन्दोलनमा घिमिरे गान्धीवादी नेता महेन्द्रनारायण निधि, कांग्रेस नेतृ लीला कोइरालासँगै थुनामा समेत परेका थिए ।
प्रजातन्त्रका लागि उनको योगदानलाई सम्मान गर्दै प्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईले समेत घिमिरेलाई सम्मान गरेका थिए । ४ दशकभन्दा बढी पत्रकारिता गरेका उनलाई नेपाल पत्रकार महासंघ धनुषाले पछिल्लो पटक सम्मान गरेको थियो ।
तपाईको प्रतिक्रिया