पत्रकार वीरेन्द्र साह हत्याका अर्का अभियुक्त पक्राउ

समाचार

9/10/2020

बारा, २५ भाद्र । बाराका पत्रकार वीरेन्द्र साहका हत्याका अभियुक्त हरेराम पटेललाई प्रहरीले जिल्लाको कोल्हवीबाट पक्राउ गरेको छ । उनी हत्याको घटना भएको १३ वर्षपछि पक्राउ परेका हुन् ।

पत्रकार साहको २०६४ असोज १८ मा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताले बाराको पिपरा बजारबाट अपहरण गरी हत्या गरेका थिए ।

बाराको साविक तेलकुवाँ गाविस–४ हाल महागढीमाई नगरपालिका–२ का ४७ वर्षीय पटेल तत्कालीन माओवादीका वाईसिएल ईन्चार्ज थिए ।

हाल उनी मोहन वैद्यले नेतृत्व गरेका नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य र सोही पार्टीअन्तर्गतका क्रान्ति मधेसी मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

सात महिनाअघि पत्रकार साहकै हत्याका अर्का अभियुक्त कुन्दन फौजदार पक्राउ परेका थिए । मुख्य योजनाकार लालबहादुर चौधरी अझै फरार छन् । सात महिनाको फरकमा पटेल र फौजदार पक्राउ परेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ