पानीको विवादमा झडप हुँदा रौतहटको मौलापुरमा डेढ दर्जन घाइते

समाचार

6/26/2021

रौतहट, १२ असार । पानीको विषयमा विवाद हुँदा रौतहटको मौलापुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ । झडपमा डेढ दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

मौलापुर १ मर्यादपुरका भुवाली साह सोनार र हृदय नारायण यादव बीच शनिबार बिहान वर्षाको पानीको निकासको विषयमा विवाद भएको थियो । सोही विवाद बढ्दै झडपमा परिणत भएको हो ।

स्थानीय भुवाली साह सोनारले सामान्य विवादमा विपक्षी हृदय नारायण यादवको पक्षमा मौलापुर १ मर्यादपुरका वडा अध्यक्ष रामप्रवेस यादव र उनका दर्जनौं मानिस बांँसको लाठी, भाटासहित आएर आक्रमण आरोप लगाए ।

सो क्रममा भुवाली साह सोनार पक्षका भरत साह सोनार, नयन देवि, सुहन साह सोनार, अन्जु देविको टाउकोमा चोट लागेको छ ।

त्यसैगरी श्यामा देवि, किसुन साह सोनार,रामजी साह सोनार, धर्मेन्द्र साह लगायतलाई पनि चोटपटक लागेको र दुईजनाको हात भाँच्चिएको साहको भनाइ छ ।

घाइते सबै जनाको मौलापुरस्थित एक क्लिनिकमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ ।

उता हृदय नारायण यादव, जगरनाथ कुश्वाहस,पन्नालाल यादव ,शिवपुजन महतो,रमिता देवी,असिया देविलाई पनि सामान्य चोटपटक लागेको ईलाका प्रहरी कार्यालय मौलापुरका इन्स्पेक्टर राकेश यादवले बताए । घटनामा संलग्न रहेको आरोपमा सुरेन्द्र यादव र शिवपुजन महतो पक्राउ परेको प्रहरीले जनाएको छ ।

शनिवार पानीको निकासको बिषय लिएर झडप हुनुअघि उनीहरुबीच पुरानो विवाद पनि रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ