परीक्षण नगराउँदा सिरहामा संक्रमणको जोखिम बढ्दै

समाचार

6/2/2021

सिरहा, १९ जेठ । सिरहाको लहान नगरपालिकास्थित उत्तरी क्षेत्रका दलित बस्तीमा पछिल्लो दुई सातादेखि रुघाखोकी र ज्वरोको प्रकोप देखिए पनि बिरामी परीक्षण नगराइ गाउँमै बस्दा सङ्क्रमण थप फैलिने जोखिम बढ्को छ ।

ज्वरो र रुघाखोकीले थलिए पनि स्वास्थ्य चौकीमा जचाउन जाँदा कोरोना सङ्क्रमण हुन सक्ने त्रासले बिरामी गाउँमै बसिरहेको स्थानीयहरुले बताएका छन् ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिले परीक्षण गरेर नतिजा नआउँदासम्म अलग रहन पटक–पटक स्वास्थ्यकर्मीले आग्रह गर्दै आएपनि बिरामी जचाउँन स्वास्थ्य चौकीसम्म नआएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताए ।

सिरहा अस्पतालमा कोभिड १९ को निःशुल्क पीसीआर परीक्षण हुँदै आएपनि ग्रामिण भेगका सर्वसाधारण लक्षण देखिए पनि परीक्षण गराउन आनाकानी गरिरहेकाले सङ्क्रमणको जोखिम बढेको प्रमुख यादवको भनाइ छ ।

कोभिड १९ को दोस्रो लहर शुरु भएयता सिरहामा हालसम्म एन्टिजेन विधिबाट २७२ र पीसीआर विधिवाट २ हजा ९९७ जनाको मात्र परीक्षण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये नेगेटिभ रिपोर्ट आएका बाहेक सिरहामा ८६९ सक्रिय सङ्क्रमित छन् ।

कोभिड १९ को सङ्क्रमणबाट जिल्लाभर ३८ पुरुष र १८ महिला गरी ५६ जनाको मृत्यु भएको छ। पहिलो चरणमा सिरहामा २५ जनाको मृत्यु भएको थियो । हाल सिरहामा दैनिक ६० जना औसतमा सङ्क्रमित थपिने गरेको तथ्याङ्कले देखाएको छ ।

यसबाहेक जोखिम बढ्दा पनि भोज र मृत्यु संस्कारमा स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्बन नगर्ने, जवर्जस्ती हाट बजार लगाउन खोज्ने, कन्ट्याक्ट ट्रेसिङ्ग गरी पीसीआर परीक्षण गराउन नचाहने प्रवृतिले जोखिम झनै बढाउन सक्ने भएकाले स्वास्थ्यकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।

बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरेर सिरहाका १७ मध्ये १० वटा स्थानीय तहले आफ्नै कोभिड १९ अस्पताल सञ्चालनमा ल्याएपनि अधिकांश सङ्क्रमतिहरु होम आइसोलेसनमै बसिरहेका छन् ।

लहान, गोलबजार, धनगढीमाई, मिर्चैया, कर्जन्हा, कल्याणपुर नगरपालिका र सखुवाननकारकट्टी, औरही, बरियारपट्टी र लक्ष्मीपुर पतारी गाउँपालिकाले आ–आफ्नै कोभिड १९ अस्पताल सञ्चालनमा ल्याएको जनाएको छ ।

जिल्लामा सरकारी र निजी गरी १५ वटा अस्पतालले कोभिड १९ सङ्क्रमितलाई उपचार सेवा दिँदै आएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

जिल्ला प्रशासन सिरहाको पुरानो भवन कारागारका कैदीबन्दीहरु सङ्क्रमित भए उपचारको लागि आइसोलेसन बनाइएको छ ।

कोरोनाको दोस्रो लहरपछि जिल्ला प्रशासन कार्यालय सिरहाको पहलमा जिल्ला अस्पताल सिरहामा ५ शय्याको आईसियु, दुई भेन्टिलेटरसहित २६ शय्याको आइसोलेसन बनाइएको छ ।

सिरहा अस्पतालमा प्रदेश २ सरकारले थप दुई वटा भेन्टिलेटर र अक्सिजन प्लान्टसमेत जडान गरी सञ्चालन गरिएको छ ।

अस्पतालमा दक्ष जनशक्ति नहुदाँ तालिम दिएर भेन्टिलेटर चलाउनुपर्ने बाध्यात्मक स्थिति रहेको अस्पतालका मेसु डा. नागेन्द्रप्रसाद यादवले बताए ।

सिरहा अस्पतालको अक्सिजन प्लान्टबाट रिफिल गर्ने उपकरण खरिदको लागि जिल्ला प्रशासन कार्यालयको बजेटबाट टेन्डर आह्वान गरी खरिद प्रक्रियालाई अगाडि बढाइसकेको प्रजिअ कँडेलले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ