सिरहा, २१ पुस । नेकपा ओली समूहका स्थायी कमिटी सदस्य ईश्वर पोखरेलले पुष्पकमल दाहाल र माधव नेपालको पदीय लोलुप्ता तथा कुण्ठाको कारणले पार्टी विभाजनको कगारमा पुगेको दाबी गरेका छन् ।
सोमबार सिरहाको गोलबजारमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै नेता पोखरेलले नेताद्धय प्रचण्ड र माधव नेपालको राजनीतिक कुण्ठाको कारण पार्टीको यस्ते दुर्दशा भएको बताए ।
उनले भने,‘पार्टी एकता पश्चात मुलुकमा स्थायी सरकार र राजनीतिक स्थिरता हुन्छ भनेर सबैले सोंचेका थियौं तर, सरकार बनेको एक वर्ष नबित्दै जनताको आवश्यकता र देशको विकास बारे कहिल्यै छलफल नगरी दाहाल–नेपाल पक्षले पार्टी भित्र झमेला गर्दै आएका थिए ।’
सरकार गठनको दोश्रो वर्ष नबित्दै प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन उनीहरु सुरुदेखि नै गुटबन्दीमा लागेका उनले आरोप लगाए ।
कार्यक्रममा शहरी विकास मन्त्री प्रभु साहले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले चिटिङ्ग गरेर प्रधानमन्त्री ओली विरुद्धको अविश्वासको प्रस्तावमा आफूसँग हस्ताक्षर गराएको आरोप लगाए ।
उनले गत असार महिनामा भएको एक बैठकमा छलपूर्वक आफूसँग हस्ताक्षर गराइको बताए । प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई बेचेको समेत उनले आरोप लगाए ।
तपाईको प्रतिक्रिया