परिचयपत्रकै आधारमा नेपालीलाई भारतमा खोप सुविधा

समाचार

7/9/2021

काठमाडौं, २५ असार । भारत सरकारले आधार कार्ड वा कुनै पनि भारतीय परिचयपत्र नभएका नेपालीलाई नेपाली नागरिकताको प्रमाणपत्र वा राहदानीका आधारमा खोप लगाउने व्यवस्था गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट यसको सुरुवात भएको हो । अहिले भारतभरि खोप अभियान चलिरहेका वेला नेपाली नागरिकताबाहक पनि भारतीयसरह लाभान्वित भएका छन् ।

यस सुविधाबाट भारतमा बसेका नेपाली नागरिकले खोपबाट वञ्चित हुनुपर्ने अवस्था छैन ।

जानकारहरूका अनुसार भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवालेले यसका लागि सरकारसँग प्रयास गरेका थिए ।

चौथाइवालेसँग दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले १५ जेठमा भएको भेटमा नेपालमा खोप आपूर्तिका लागि सहजीकरण गरिदिन र भारतमा रहेका नेपालीलाई खोप लगाउने प्रबन्ध गरिदिन आग्रह गरेका थिए ।

नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई कूटनीतिक नोट पठाएर पनि खोपका लागि आग्रह गर्दै आएको थियो ।

नेपाली कागजपत्र नभएका र घरमा काम गर्ने नेपाली मजदुरले पनि मालिकको सिफारिसका आधारमा खोप लगाउने व्यवस्था मिलाइएको जानकारी नेपाली दूतावासलाई भारतीय अधिकारीहरूले दिएका छन् ।

भारत सरकारले बनाएको आरोग्य सेतु एपबाट खोपका लागि भारतीय नागरिकसरह नेपाली नागरिकले पनि आवेदन दिन सक्ने व्यवस्था छ । त्यसमा कोभिसिल्ड वा कोभ्याक्सिन दुवै खोपमध्ये एउटा रोज्ने अवसर पनि दिइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ