पार्टीको निर्देशन र ह्वीप नमान्नेलाई कारबाही हुनु स्वाभाविक हो, यसमा कुनै आग्रह वा पूर्वाग्रह होइन : अधिकारी

समाचार

7/8/2020

काठमाडौं, २५ असार । सांसद सरिता गिरीलाई समाजवादी पार्टीले गरेको कारबाहीबारे उपमहासचिव प्रकाश अधिकारीले कारबाही हुँदा कुनै किसिमको आग्रह वा पूर्वाग्रह नरहेको स्पष्ट पारेका छन् ।

मधेशवाणी रेडियो कार्यक्रममा उनले भने, ‘किनभने पार्टीले उहाँलाई आफ्नो नीतिअनुसार अनुशासनको कारबाही गरेको छ । उहाँलाई पार्टीको सदस्य र सांसद पदबाटै हटाउनुपर्ने विशेष परिस्थिति बन्यो । संविधान संशोधनको विषयमा उहाँले जुन स्टेण्ड लिनु भयो, उहाँले त्यसको विरुद्धमा अभिव्यक्ति पनि दिँदै आउनुभएको थियो र संशोधनको विरुद्धमा संशोधन हाल्नुभयो । त्यस विषयमा पार्टीले उहाँलाई निर्देशन दिएको थियो । सरकारको संशोधनको पक्षमा मतदान गर्न ह्वीप पनि जारी गरेको थियो ।’

उनले भनेका छन्, ‘पार्टीले जुन निर्देशन दियो त्यसको पनि उहाँले पालना गर्नुभएन । त्यसपछि पार्टीले ह्वीप पनि जारी गर्यो त्यसको पनि पालना गर्नुभएन । त्यसपछि पार्टीले उहाँलाई प्रष्टिकरण पनि सोध्यो, स्पष्टीकरणको जवाफमा उहाँले आफूले गलती गरेको होइन पार्टीले नै गलती गरेको भन्ने जवाफ दिनुभयो । यी सबै कुरा हुँदा पार्टीले यस्तो किसिमको कारबाही गर्नुपर्ने बाध्यता आयो ।’

गिरीले पार्टीकै दृष्टिकोण गलत छ भनेर स्पष्टिकरण दिएको उनले बताए । उनी भन्छन्, ‘यस्तो कुरा आइसकेपछि त उहाँको सन्तोषजक जवाफ नआएपछि के गर्ने ? कारबाहीको भागी त हुनुपर्यो नि । पार्टीको निर्देशन विपरीत कार्य गर्ने, ह्वीप नमान्ने भएपछि त आफ्नो कारबाही अगाडि बढाउनुपर्ने नै हुन्छ । कुन तहको कारबाही गर्नुपर्छ भन्ने कुराको निर्णय पार्टीले गर्ने हो ।’

‘कसै कसैले पार्टीबाटै हटाउनुपर्ने, सांसद पदबाटै हटाउनु पर्ने गलत भयो भन्ने तर्क गरिरहेका छन् । तर पार्टीको विपरीत काम गर्नेलाई कस्तो कारबाही गर्ने पार्टीको अधिकार हो नि । संसदीय परम्परा र पद्धतिअनुसार पार्टीमा यस्ता गतिविधिले अराजकता बढ्ने देखिन्छ । पार्टीमा अराजकता र अनुशासनहीनता नियन्त्रण गर्नका लागि उहाँलाई पार्टीको सदस्य र प्रतिनिधिसभा सदस्यबाट हटाइएको हो । पार्टीको ह्वीप त ठूलो कुरा हो, चाहे त्यो व्यक्तिगतरुपमा कसैलाई राम्रो लागोस् वा नलागोस् । पार्टीले कुनै निर्णय गरिसकेपछि जो कोहीले पनि सधैं सिरोधार्य गर्नेछु, मेरो कुनै व्यक्तिगत स्वार्थ रहने छैन भनेर सदस्यता लिएका हुन्छन् ।’ उनले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ