काठमाडौं, २५ असार । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश, राष्ट्रियताको गम्भीर विषयमा पार्टीको ह्विपविपरीत जाने सांसद स्वतः दण्डको भागी हुने भएकाले क्षेत्र, लिंगको कुरा गर्नु सान्दर्भिक नहुने स्पष्ट पारेका छन् ।
‘विचार अभिव्यक्तिकै कारण कसैलाई दण्डित गर्नु बेठीक हो । तर राष्ट्रिय–राज्य रहुन्जेल भौगोलिक अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक र पार्टीको कर्तव्य हुन्छ ।’ बुधबारबाट बेलुका उनले ट्वीटमा लेखेका छन्, ‘झन् त्यस्तो संगीन विषयमा पार्टीको ह्विप विपरित जाने सांसद स्वतः दण्डको भागी हुन्छ । यहाँ क्षेत्र र लिंगको कुरा गर्नु सान्दर्भिक हुन्न ।’
समानुपातिक कोटाबाट सांसद बनेकी सरिता गिरीले नयाँ नक्सा जारी गरेपछि त्यसको विरुद्ध अभिव्यक्ति दिएपछि समाजवादी पार्टीले कारवाही गरेको विषयमा भट्टराईको यस्तो धारणा आएको हो ।
सांसद गिरीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी भएको नयाँ राजनीतिक नक्साको विरोध गरेकी थिइन । सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव विरुद्ध पनि उनले संशोधन राखेकी थिइन् । उनको उक्त कदमलाई दृष्टिगत गर्दै पार्टीले सांसद र पार्टी सदस्यबाट बरखास्त गरेको छ ।
तपाईको प्रतिक्रिया