प्रदेश निर्वाचन कार्यालयहरुको उद्घाटन

समाचार

3/31/2021

काठमाडौं, १८ चैत । भर्चुअल माध्यमबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश निर्वाचन कार्यालयहरुको उद्घाटन गरेका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को गत माघ २६ गतेको निर्णयानुसार निर्वाचन आयोगअन्तर्गत सात वटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय रहने गरी संगठन संरचना स्वीकृत भएको थियो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा १६ मा निर्वाचन आयोग आफैंले सम्पादन गर्नुपर्ने कामका लागि आवश्यकता अनुसार प्रदेश तथा तोकिएबमोजिमको अन्य स्थानमा कार्यालय स्थापना गर्न सक्ने व्यवस्था छ ।

सोही व्यवस्था बमोजिम आयोगले गरेको सिफारिसका आधारमा हाल प्रदेश राजधानी रहेका मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली जिल्लामा साविकका जिल्ला निर्वाचन कार्यालय खारेज भइ आयोगको प्रादेशिक कार्यालयको रुपमा नेपाल प्रशासन सेवा, राजपत्रांकित द्वितीय श्रेणीका उप–सचिवको नेतृत्वमा ९ (नौ) जना कर्मचारीहरु रहने गरी प्रदेश निर्वाचन कार्यालयको स्थापना गरिएको हो ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगलाई नेपालको संविधानबमोजिम संघीय ढाँचा अनुकूल तुल्याउन र आयोगका काम कारवाहीलाई थप प्रभावकारी बनाउन प्रदेशस्तरमा कार्यालय स्थापना गरिएको जानकारी गराएका छन् ।

साथै, यसरी स्थापित कार्यालयहरुबाट आगामी दिनमा निर्वाचन व्यवस्थापन, निर्वाचन शिक्षा एवं मतदाता जागरण लगायत आयोगलाई तोकिएका कार्यसम्पादनमा थप सहजता हुने र जिल्ला निर्वाचन कार्यालयहरुको काम कामकारवाहीमा प्रभावकारी समन्वय हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै आयोगका सचिव सुरेश अधिकारीले प्रदेशस्तरमा समेत आयोगको उपस्थितिले आयोगबाट सम्पादन गर्नुपर्ने कृयाकलापमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखेका थिए ।

उक्त कार्यक्रममा आयोगका आयुक्तहरु नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौड्याल, राम प्रसाद भण्डारी र डा. जानकी कुमारी तुलाधार, आयोगका सचिव सुरेश अधिकारी, आयोग सचिवालय मातहतका सवै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारीहरु एवम् विकास साझेदार संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ