विराटनगर, १४ माघ । नेकपाका प्रदेश १ का इन्चार्ज भीम आचार्यले प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्ताव पारित हुने दाबी गरेका छन् ।
राजनीतिक एजेन्डा मिलेका र संसद्मा भएका दलसँग मिलेर अविश्वासको प्रस्ताव पारित गर्ने उनले बताए ।
नेकपा प्रदेश कमिटीले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विपक्षी दलसँग आफूले छलफल गरेको जानकारी दिए । ‘कतिपय दलको केन्द्रबाट निर्णय भएर आउन बाँकी रहेको छ,’ उनले भने ।
उनले ‘असंवैधानिक कदम’को विरोधमा रहेको नेपाली कांग्रेसले पनि अविश्वासको प्रस्तावको पक्षमा मत हाल्ने दाबी गरे ।
‘पहिले अविश्वास प्रस्ताव पारित गराउने छौँ’, उनले भने, ‘त्यसपछि कांग्रेससँग पनि मुख्यमन्त्री दिने–लिने विषयमा छलफल गर्नेछौँ ।’
नेता आचार्यले प्रधानमन्त्रीको असंवैधानिक कदमले लोकतान्त्रिक प्रक्रिया नै अवरुद्ध भएको बताए । नेकपाले माघ १६ गते विराटनगरमा जनप्रदर्शन गर्ने र त्यसको तयारी पूरा भएको नेकपा प्रदेश अध्यक्ष घनेन्द्र बस्नेतले जानकारी दिए ।
तपाईको प्रतिक्रिया