जनकपुरधाम, २७ असार । प्रदेश २ सरकारले रातो किताबमा मन्त्रीमुखी योजना मात्रै राखेको भन्दै विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।
रातोकिताब संशोधन गरी समानुपातिक ढंगले बजेट विनियोजन नभएसम्म प्रदेशसभा चल्न नदिने एमाले र माओवादी केन्द्रका सांसदले अडान राखेपछि प्रदेशसभा बैठक अवरुद्ध भएको छ ।
आइतबार प्रदेशसभा बैठक सुरु हुनासाथ एमाले र मोओवादी केन्द्रका सांसदहरुले उभिएर बैठक अवरुद्ध गरेका हुन् । नेकपा एमालेका प्रदेश सांसद सुन्दरबहादुर विश्वकर्माले बजेट सन्तुलित नभएको आरोप लगाए ।
‘बजेट कुन ध्येयबाट आएको छ । प्रदेश सरकारको बजेट जिल्ला विकास समितिकोभन्दा पनि तल्लो स्तरको छ । बजेट प्रदेशको नभएर एउटा नगरपालिका र एक निर्वाचन क्षेत्रमा सीमित छ’, उनले भने, ‘जनताको अधिकारमाथि कुठाराघात भएको छ ।
बजेटले प्रदेशको विकास सम्भव छैन ।’ प्रदेश सरकारले प्रकाशित गरेको रातोकिताब नभएर ब्ल्याकबुक भएको टिप्पणी गरे । बजेट सुधार नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने उनले चेतावनी दिएका छन् ।
प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका प्रदेश सांसद दिलिप साहले प्रदेश सरकारको बजेट विकासका लागि नभएर स्वार्थ पूरा गर्न ल्याएको आरोप लगाए ।
‘प्रदेश सरकारको रातोकिताब मन्त्रीले आफ्ना योजनाहरुले मात्रै भरेका छन्,’ सांसद साहले भने, ‘मन्त्रीको मात्रै योजना राखिएको यो कालो बुक हो ।’ अ
र्थमन्त्रीले भ्रष्टाचार गर्ने शीर्षकहरुमा मात्रै बजेट आफ्ना निर्वाचन क्षेत्रमा राखेको आरोप लगाए । समानुपातिक र सन्तुलित ढंगले ६४ वटै निर्वाचन क्षेत्रमा बजेट विनियोजन गर्न प्रदेश उनले माग गरेका छन् ।
मन्त्री केन्द्रित बजेट मान्य नहुने बताउँदै समानुपातिक ढंगले बजेट विनियोजन नभएसम्म प्रदेशसभा चल्न नदिने उनले बताए ।
विपक्षी दलका सांसद उभिएर प्रदेशसभा बैठक चल्न नदिने अडान लिएपछि सभामुख सरोजकुमार यादवले बैठक एक घण्टाका लागि स्थगित गरेका छन् । आइतबार प्रदेशसभा बैठकमा मन्त्रालयगत बजेटमा छलफल गर्ने कार्यसूची रहेको छ ।
तपाईको प्रतिक्रिया