प्रदेश २ का चार जिल्लामा थप ७४ संक्रमित

समाचार

8/14/2020

वीरगन्ज, ३० साउन । प्रदेश २ को बारा, पर्सा, रौतहट र महोत्तरीमा ५० जनामा कोरोना संक्रमण भेटिएको छ ।

वीरगञ्जमा गरिएको पिसिआर परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्सा, बारा र महोत्तरीका ५० जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए । संक्रमित पर्साका २६ बाराका २० र महोत्तरीका ४ जना रहेका छन् ।

बाराको जितपुर सिमरा उप–महानगरपालिकाका विभिन्न वडाहरुका गरी १९ जनामा संक्रमण देखिएको हो । विश्रामपुर गाउँपालिका एक जनामा, महोत्तरीको जलेश्वर नगरपालिकाका दुई जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जितपुर सिमरास्थित नेपाली सेनाका २८ वर्षीय सिपाहीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नेपाल भारत महा–बाणिज्य दूतावास वीरगञ्जका एक जना कर्मचारीमा पनि कोरोना संक्रमण भएको पाइएको छ ।

यस्तै पर्साको परीक्षण महानगरपालिकाका स्थानीय,नारायणी अस्पतालका कर्मचारी, स्विपर लगायत ११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

वीरगञ्जको पानीटंकी, घडीअर्वा, श्रीपुर, छपकैया लगायतका टोलहरुमा संक्रमित देखिएका छन् । संक्रमण देखिनेमा १२ जना महिला र ३८ पुरुष रहेका छन् । दुई वर्षका बालक देखि ६९ वर्षका वृद्धसम्ममा कोरोना संक्रमण देखिएको हो ।

यता, रौतहटमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौर नगरपालिकाका ८ जना कर्मचारीसहित १७ जनामा संक्रमण दखिएको छ । त्यस्तै परोहा नगरपालिकामा ४ जना, देबाही गोनाही, चन्द्रपुर र गढीमाई नगरपालिकामा एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गौरका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए ।

पछिल्लो ६ दिनमा रौतहटमा ८६ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा हालसम्म १ हजार ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमतिमध्ये १ हजार ३ सय २७ जना निको भएर घर फर्किसकेका छन् । बाहिरबाट आएर क्वारेन्टाइन बस्नेको संख्या १ सय ५९ जना रहेको जिल्ला प्रशासन कार्यालयका सुब्बा रामनरेश साहले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ