प्रदेश २ को नेतृत्व कम्युनिष्टले गर्नुपर्छ : मन्त्री साह

समाचार

1/26/2021

सप्तरी, १३ माघ । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारप्रति गम्भीर आरोपहरु लगाउँदै कम्युनिष्टले नेतृत्व गर्नुपर्ने बताएका छन् ।

उनले प्रदेश २ मा कमिसनको राज भत्काउन कम्युनिष्टहरु अगाडि आउनुपर्ने बताएका हुन् ।

राजविराजमा मंगलबार आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका साहले प्रदेश २ सरकारको भ्रष्टाचार र कमिसखोरीले मधेशको बदनाम भएको भन्दै त्यसको अन्त्यको लागि प्रदेशको नेतृत्व कम्युनिष्टहरुले गर्नुपर्ने बताए ।

राजनीति, राष्ट्र र समाजको सेवाका लागि हुनुपर्नेमा प्रदेश २ मा मधेशी दलले राजनीतिलाई व्यापार बनाई निहित स्वार्थ पूर्ति गरिरहेको नेता साहको आरोप छ ।

‘प्रदेशमा खुलेआम लुटतन्त्र छ । सिंगो प्रदेश भ्रष्टाचारमा लिप्त छ । हिजो काठमाडौंको केन्द्रीकृत शासनलाई हामीले जनकपुरमा ल्यायौं । जनताको ठूलो भरोसा थियो कि जनकपुरबाट सुशासन कायम हुन्छ तर यहाँ दिउँसै कमिसनको खेल भइरहेको छ’, नेता साहले भने, ‘प्रदेश २ को कमिसनको राजलाई भत्काउन अब कम्युनिष्टहरु अगाडि आउनुको विकल्प छैन ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ