जनकपुरधाम, १४ जेठ । प्रदेश २ मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कोरोना महामारीका दुष्प्रभावलाई नियन्त्रण र व्यवस्थापन विशेष केन्द्रित रहने छ । गत आर्थिक वर्षको भुक्तानी विवादले लामो समयदेखि स्थगित रहेको प्रदेशसभाको बैठक जेठको अन्तिम साता बसिने छ । सो बैठकमै लालबाबु नेतृत्वको सरकारले तेस्रो नीति तथा कार्यक्रम ल्याउने छ ।
प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिने काम भइरहेको नीति आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर भोगेन्द्र झाले बताएका । उनका अनुसार सबै राजनीतिक दलका नेता र सचेतकहरुसँग विचार विमर्श भइरहेको छ ।
नीति तथा कार्यक्रममा कोभिड—१९ को दुष्प्रभावलाई कसरी नियन्त्रण र व्यवस्थापन गर्ने भन्ने विषयलाई पहिलो प्राथमिकतामा राख्न सल्लाह दिएको झाले बताए ।
‘यस महामारीले सामाजिक, आर्थिक सबै क्षेत्रलाई प्रभावित गरेको छ,’ झाले थपे,’ यस्तो बेलामा सरकारले प्रदेशमा हुनसक्ने भोकमरीलाई नियन्त्रण गर्न, बेरोजगारीलाई व्यवस्थापन गर्न र कृषि क्षेत्रमा उत्पादण तथा उत्पादकत्व अभिवृद्धि गर्न सरकारलाई सल्लाह दिएका छौं ।’
अहिलेको अवस्थामा सडक वा भौतिक पूर्वाधारलाई थाति राखि कृषि क्षेत्रलाई सबलीकरण गर्नु विशेष आवश्यक रहेको नीति आयोगको सुझाव छ । नीति तथा कार्यक्रम बनाउन विभिन्न मन्त्रालयका सचिवहरुले पनि समन्वय र सहयोग गरिरहेको हुँदा जेठको तेस्रो सातासम्म यो कार्य पूरा हुने जानकारी गराइएको छ ।
यता, प्रदेशसभाकै कक्षबाट नीति तथा कार्यक्रम सार्वजनिक गरिने भएपछि यसका लागि विशेष व्यवस्था मिलाइने प्रदेशसभा सचिवालयले जनाएको छ ।
कोरोना संक्रमणबाट जोगिन सांसदलाई सामाजिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइने छ भने सञ्चारकर्मी र अतिथिलाई सभाकक्षमा प्रवेश नदिइने सचिवालयका सचिव रञ्जित यादवले बताए ।
यसअघि सभाकक्षको बीचमा फराकिलो ठाउँमा सांसदलाई बस्न टेबुल र कुर्सीको व्यवस्था गरिएको थियो भने दायाँतर्फ अतिथि र बयाँतर्फ पत्रकारलाई बस्ने व्यवस्था थियो । तर, यस वर्ष कोरोनाले गर्दा नीति तथा कार्यक्रम प्रस्तुत भइराख्दा सामाजिक दुरी कायम गरी सांसदलाई बसाइने हुँदा ठाउँ अभावमा सञ्चारकर्मीलाई प्रवेश नदिइने जनाइएको छ ।
तपाईको प्रतिक्रिया